वैदेशिक रोजगारीमा जोखिम बढ्यो

1 September, 2015

रोजगारीका लागि मलेसियाको क्वालालाम्पुर पुगेका प्युठान, खुंग्रीका रेशम थापाको सडक दुर्घटनामा परी तीन साताअघि मृत्यु भयो। स्टिल फ्याक्ट्रीको काम सकेर कोठा फर्कंदै गरेका ३७ वर्षीय थापालाई सडक पार गरिरहेको बेला तीव्र गतिको मालवाहक गाडीले ठक्कर दिएको हो।

थापासँगै काम गरिरहेका साथीहरूले परिवारलाई दिएको जानकारी अनुसार राजमार्गमा जथाभावी हिँड्न नपाइने नियम छ । ६ महिनाअघि मात्र मलेसिया पुगेका थापालाई राजमार्गमा जथाभावी हिँड्नु हुँदैन भन्ने थाहा नहुँदा त्यस्तो दुर्घटनामा परेको परिवारजनको आशंका छ ।

 

त्यस्तै बाँके, उढरापुर–२, शान्तिनगरका नरबहादुर बस्नेतको दुई महिनाअघि साउदी अरबमा मृत्यु भयो । साउदीको मुसा नामक कम्पनीमा काम गरेर कोठामा फर्केलगत्तै नरबहादुरको मृत्यु भएको जानकारी परिवारजनले पाएका थिए । ‘भदौ ११ गते एउटै कम्पनीमा काम गर्ने भारतीय साथीले नरबहादुर सुतेको सुत्यै भएको जानकारी दिएको नरबहादुरका मित भाइ हस्तबहादुर बिकले बताए । दिउँसो चर्को गर्मीमा काम गरेर फर्केका नरबहादुरले राति कोठा ज्यादै चिसो हुने गरी एसी चलाएर सुतेकाले मृत्यु भएको हुनसक्ने आशंका छ ।

 

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवायुवतीको सँगै विदेशमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । बिदेसिएका युवायुवतीको मृत्युको कारण खोज्दै जाँदा अधिकांशले विदेशको तापक्रम, रहनसहन तथा नियम–कानुन नबुझ्दा ज्यान गुमाएको पाइएको छ ।

 

विदेश जानुअघि सरकारी निकाय र मेनपावर कम्पनीले रोजगारदाता मुलुकबारे कुनै पनि जानकारी नदिँदा कमाउन पुगेकाले ज्यान गुमाउने गरेको धेरैको गुनासो हुन्छ । तैपनि कामदार विदेश पस्नुअघि दिनुपर्ने अभिमुखीकरण तालिम प्रभावकारी नहुँदा वैदेशिक रोजगारीको जोखिम घट्नुको सट्टा बढिरहेको छ । विदेशमा ज्यान गुमाउने र अंगभंग हुने क्रम बढ्दो छ । वैदेशिक रोजगार ऐनले हरेक कामदारले विदेश जानुअघि कम्तीमा दुई साताको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश मेनपावर कम्पनीले रोजगारदाता मुलुकमा कामदारले गर्नुपर्ने व्यवहारबारे जानकारी नदिई युवायुवतीलाई पठाइरहेका छन् ।

 

तीन वर्ष साउदीमा काम गरेर अघिल्लो महिना घर फर्केका काठमाडौं, बौद्धका नेमा शेर्पाले विदेश पठाउनुअघि मेनपावर कम्पनीले अभिमुखीकरण तालिम र आवश्यक जानकारी नदिँदा अधिकांशले दुःख पाउने गरेको बताए । ‘धेरैलाई रोजगारदाता देशको सडक कसरी पार गर्नेदेखि लिएर त्यहाँ कसरी बोल्ने, के गर्ने, के नगर्ने भन्ने जानकारी नहुँदा दुःख पाउने गर्छन्,’ शेर्पाले भने, ‘स्वेदशमा दुई साताको अभिमुखीकरण तालिममा सहभागी हुन झन्भट मान्ने युवायुवती र मेनपावर कम्पनीको बेवास्ताले अन्ततः विदेशमा अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दो छ ।’

 

मेनपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई अभिमुखीकरण तालिममा सहभागी नगराए पनि नियमनकारी सरकारी निकायमा भने विदेश जानेले तालिम लिएको प्रमाणपत्र पेस गरेका हुन्छन् ।

 

वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मी धेरैजसो मेनपावर कम्पनी विदेश जानेलाई तालिम नदिई सिधै विमानस्थल बोलाएर उडाउँछन् भन्ने जानकारी भए पनि कमजोर संयन्त्रका कारण कारबाही गर्न नसकिएको बताउँछन् । ‘अभिमुखीकरण तालिम नलिएका युवायुवतीलाई फर्काउने हो भने उनै विदेश जानबाट रोकिनु पर्छ,’ रेग्मीले भने, ‘जे गरे पनि भइहाल्छ नि भन्ने प्रवृत्तिले वैदेशिक रोजगारीमा जानेहरू पीडित हुने गरेका छन् ।’

 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार रोजगारीको क्रममा २०६४ सालयता ४ हजार ४ सय १ जनाको मृत्यु भएको छ । अंगभंग हुनेको संख्या लगभग त्यत्ति छ । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाउने महिलाको संख्या ८७ छ । अहिलेसम्म सबभन्दा बढी मलेसियामा १५ सय ९२ नेपालीको मृत्यु भएको छ । कामदार बढी मृत्यु हुने अर्को देश साउदी अरब हो । जहाँ ११ सय ८० नेपालीले ज्यान गुमाएका छन् ।

 

श्रम स्वीकृति लिई विदेश गएका व्यक्तिको मृत्यु हुँदा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पीडित परिवारलाई तीन लाख रुपैयाँ राहत दिन्छ । बोर्ड कर्मचारीका अनुसार युवायुवतीको वैदेशिक यात्रा सुरक्षित बनाउन अभिमुखीकरण तालिम दिने दायित्व मेनपावर कम्पनीको हो । मेनपावर व्यवसायी भने विदेश जानुअघि सक्दो अभिमुखीकरण तालिम दिने गरे पनि त्यसबाट सन्तोषजनक नतिजा नआउँदा अपजस सहनुपरेको गुनासो गर्छन् ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024