नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुमध्ये करिव ६० प्रतिशत पूर्ण रुपमा अदक्ष कामदार हुने गरेको देखिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका विभिन्न प्रक्रिया पूरा गरी गत माघ महिना गएका कामदारहरुको तथ्यांकका आधारमा नेपाली कामदारको ठूलो हिस्सा आवश्यक सीप विना नै रोजगारीको खोजीमा मुलुक छाडेको देखिएको हो । श्रम बजारमा उच्च दक्ष एवं प्रविधियुक्त कामदारको माग भइरहेको भएपनि नेपालबाट जाने कामदारहरुको क्षमतामा भने सुधार आउन सकेको देखिँदैन ।
गत माघ महिनामा ५२ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट जाने नयाँ कामदारको संख्या २८ हजार ४ सय १५ रहेको छ । बाँकी अधिकांश कामदार एक चोटी विदेश पुगेर दुई वा तीन वर्षको भीषा अवधिमा काम गरी स्वदेश फर्किएर पुनः वैदेशिक रोजगारीमा हिडेका कामदार देखिन्छन् ।
माघ महिनामा पुन रिइन्ट्रीका माध्यमबाट संस्थागत भन्दा केही कम २१ हजार ४ सय ८०, वैधानिकीकरणका माध्यमबाट १ हजार ७ सय ५२ जना, व्यक्तिगत नयाँ ७ सय १० जना वैदेशिक रोजगारीमा गएका छन् ।
त्यसमध्ये ३० हजार ३ सय २५ जना पूर्णत अदक्ष, १८ हजार १ सय ६९ जना अर्धदक्ष, ३ हजार ८ सय ८४ जना दक्ष, ५९ जना व्यवसायिक र २० जना मात्र उच्च दक्ष रहेका छन् ।
खाडी मुलुकहरूलाई रोजगारीको गन्तव्य बनाउनेहरूमा ३९ प्रतिशतले तालिम लिएका छन् । त्यसैगरी, मलेसिया एवं अफगानिस्तान तथा अन्य मुलुक जाने मध्ये करिव ३३ प्रतिशतले तालिम लिएका छन् । दक्षिण कोरिया, इजरायल, अमेरिका, जापान लगायतका मुलुकमा जानेकामदार मध्ये ५० प्रतिशतलेकुनै न कुनै प्रकारको तालिम लिएको देखिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारहरूले जानु अघि न्यूनतम तालिम लिनु पर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकाले अदक्ष कामदारको संख्या बढेको हो ।
खासगरी, अल्पकालमा व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने संस्थाहरूको स्थापना तथा शाखा विस्तारमा जोड दिइ गन्तव्य मुलुकहरूलाई आवश्यक जनशक्तिको अनुमानका आधारमा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सोही अनुरूप तालिम प्रदान गर्न नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।
वैदेशिक रोजगारमा जाने कामदाहरुलाई लक्षित गरी वैदेशिक रोजगार विभागको गठन, श्रम कुटनीतिको विस्तार, न्यूनतम पारिश्रमिक निर्धारण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको गठन, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपालीहरूको उद्धार तथा आर्थिक राहतको व्यवस्था, आप्रवासी स्रोत तथा सूचना केन्द्रको स्थापना भएका भएपनि कामदारको आर्जनको मुल पक्ष सीप तथा तालिममा ध्यान नपुगेको राष्ट्र बैंकको सो अध्ययनले औल्याएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारमा व्यावसायिक सीप तथा तालिम लिने प्रवृत्तिमा खासै प्रगति हुन नसक्नु तथा विद्यालय स्तरको पाठ्यक्रममा वैदेशिक रोजगारबारे शिक्षा प्रदान गर्न नसक्नु जस्ता कारण नेपालको वैदेशिक रोजगारी मूलतः अदक्ष प्रकृतिको रहेको पाइन्छ ।
वैदेशिक रोजगारीमा जानेमध्ये सेक्यूरिटी गार्डको रूपमा १३.६ प्रतिशत, घरेलु कामदारको रूपमा १.५ प्रतिशत, कृषि मजदुरको रूपमा २.३ प्रतिशत तथा क्लिनरको रूपमा ३.५ प्रतिशत रहेका छन् । सामान्य प्रकृतिको दक्षता आवश्यक पर्ने पेन्टर, सिकर्मी, वेटर, ड्राईभर जस्ता क्षेत्रमा समेत ठूलै संख्यामा नेपाली कामदारहरू विदेश जाने गरेका छन् । ड्राइभरको रूपमा जाने ९.५ प्रतिशत, पेन्टर÷सिकर्मी ६.४ प्रतिशत, सेल्स मेन ३.८ प्रतिशत तथा वेटर÷कुक ४.९ प्रतिशत रहेका छन् । उच्चस्तरको सीप तथा ज्ञान आवश्यक पर्ने सुपरभाइजर, प्राविधिक÷मेकानिक्स तथा टेवल वर्कजस्ता कामको लागि विदेश जानेको संख्या विगतको तुलनामा वृद्धि भए तापनि खासै ठूलो प्रगति भने नभएको अनुभव छ । रोजगारीमा गएका मध्ये १०.१ प्रतिशत प्राविधिक तथा मेकानिक्सको रूपमा, ४.१ प्रतिशत सुपरभाइजरको रूपमा तथा ३.२ प्रतिशत टेवल वर्कर र बाँकी अन्य पेशाका रहने गरेका छन् ।