विपन्न परिवारलाई उपमेयरको खाद्यान्न

1 April, 2020

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छन्। दैनिक ज्यालादारीका काम गरेर जीवन निर्वाह गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान माल्खुका २५ परिवारलाई उपमेयर राईले बुधबार व्यक्तीगत खर्चमा खाद्यान्न प्रदान गरेकी हुन्। 

‘लकडाउन’का कारण ज्यालादारी काम गर्न नपाउँदा बिहान बेलुकाको हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका परिवारलाई उपमेयर राईले गाउँमै पुगेर खाद्यान्न उपलव्ध गराएको बताईन्। राईले २१ दलित परिवार र अन्य चार परिवारलाई परिवार संख्याको आधारमा प्रतिपरिवार १५ केजीदेखि ३० केजीका दरले ४२० केजी चामल वितरण गरेकी हुन्। 

दैनिक ज्यालामा हलेसी बजारका होटलमा भाँडा माझ्ने, सामान केलाउने बनाउने, लोडअनलोड लगायतका काम गरेर परिवार चलाइरहेको अवस्थामा ‘लकडाउन’ लागू भएपछि समस्यामा परेको जानकारी आएपछि खाद्यान्न सहयोग गरेको उपमेयर राईले बताईन्। 

खाद्यान्न वितरणका लागि उपमेयर राई हलेसीबाट चामल लिएर माल्खु पुगेकी थिईन्। खाद्यान्न पाउनेमा अधिकांश दलित परिवार, एकल महिला र ज्येष्ठ नागरिक छन्। ‘लकडाउनका कारण काम गर्न नपाउँदा उनीहरुको रोजीरोटी गुमेको र हातमुख जोर्नै समस्या पर्न थालेको जानकारी पाएँ,’ उपमेयर राईले भनिन्, ‘केही परिवारलाई मात्र सहयोग गर्ने सोच बनाएर गाउँमा पुग्दा अन्य परिवारको अवस्थामा पनि नाजुक पाइएकाले सहयोग गरिएको हो।’ 

उपमेयर राईले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिके, गैरीगुठ र ऐसेलुखर्कका १४ विपन्न परिवारलाई पनि खाद्यान्न सहयोग गर्ने तयारी गरेको बताएकी छन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ले हाल ज्यालादारी काम गर्दै जीवन निर्वाह गरिरहेका परिवार सबैभन्दा बढि मारमा परेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026