विदेसिने ६ प्रतिशतले घटे, रेमिट्यान्स ७ प्रतिशतले बढ्यो

10 June, 2018

कामका लागि विदेसिने नेपालीको संख्या घटे पनि रेमिट्यान्समा भने सुधार आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको वित्तीय विवरण अनुसार यस अवधिमा ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ। यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको यस अवधिको तुलनामा ७ प्रतिशतले बढी हो।

 

अघिल्लो वर्ष यस्तो रेमिट्यान्सको वृद्धिदर ५. २ प्रतिशत थियो। परिवर्तित बिनिमयदरले देखिएको कमजोर नेपाली मुद्रा तथा दक्ष कामदार बढ्न थालेसँगै रेमिट्यान्समा सुधार आएको हो। ठीक एक वर्षअघि १०३ रुपैयाँ रहेको डलरको मूल्य आजको दिनमा १०८ रुपैयाँ नाघेको छ।

 

रेमिट्यान्समा उल्लेख्य सुधार देखिँदा कामका लागि विदेसिनेको संख्या भने ६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३. ९ प्रतिशतले घटेको थियो। यस आवको साउनदेखि बैशाखसम्मको अवधिमा ३ लाख १५ हजार युवाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। जवकि गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ३४ हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए।

 

संख्यात्मक रुपमा यो अवधिमा मलेसिया जाने नेपाली कामदारको संख्या सबैभन्दा उच्च छ। कामका लागि कुल बाहिरिएकामध्ये मलेसियामा ३१ प्रतिशत, कतारमा २८ प्रतिशत, दुबइमा १५ प्रतिशत गएका छन्। गत आवको यस अवधिमा कतार जानेको संख्या सबैभन्दा धेरै थियो। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024