विदेसिनेको संख्या घट्दा मलेसिया र दुबई जाने बढे

24 May, 2018

रोजगारका लागि विदेसिने नेपालीको समग्र संख्या घटे पनि मलेसिया र दुबईमा जाने नेपालीको संख्या भने बढेको छ।वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ६. ८ प्रतिशतले विदेसिनको संख्या घटेको छ।

साउनदेखि चैतसम्म कुल २ लाख ८१ हजार ४०५ जनाले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन्। गत वर्षको यस अवधिमा यो संख्या ३ लाख १ हजार ८७६ थियो।

 

कामका लागि विदेसिनेको संख्या घट्दा मलेसिया र दुबई जानेहरु भने बढेका छन्। नौ महिनामा ८९ हजार ११ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति पाएका छन्। गत वर्ष यो संख्या जम्मा ६९ हजार ६३८ थियो।

 

वैदेशिक रोजगारमा गएकामध्ये गत वर्ष मलेसियामा जाने नेपाली कामदारको हिस्सा २३ दशमलव १ प्रतिशत रहेकोमा हाल ३१ दशमलव ६ प्रतिशत पुगेको छ। योसँगै रोजगारीका लागि मलेसिया पहिलो गन्तव्य बनेको छ।

 

दोस्रो प्रमुख गन्तव्य बनेको कतारको हिस्सा २८ दशमलव ३ प्रतिशत छ। गत वर्ष कतार ३३ दशमलव १ प्रतिशत हिस्सासहित पहिलो गन्तव्यमा थियो। यो वर्ष कतार दोस्रो स्थानमा झरेको हो। त्यसपछि दुबई, साउदी अरब र कुवेत क्रमशः छन्।

 

तेस्रो प्रमुख गन्तव्य रहेको दुबईमा जानेको संख्या पनि बढेको छ। साउनदेखि चैतसम्म कुल ४४ हजार ७ जनाले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन्। गत वर्ष यस अवधिमा यो संख्या ४१ हजार ५७० थियो। वैदेशिक रोजगारका लागि जानेमध्ये दुबई जानेको हिस्सा १५ दशमलव ६ प्रतिशत पुगेको छ। गत वर्ष १३ दशमलव ८ प्रतिशत थियो।

 

साउदी अरब जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ। नौ महिनामा ३२ हजार ३६१ जनाले साउदीका लागि अन्तिम श्रम स्वीकृति लिए। जवकि गत वर्षको सोही अवधिमा कुल ६२ हजार २७७ जना साउदी पुगेका थिए।

 

साउदीका अलवा कतार जाने नेपालीको संख्या घटेको छ। गत वर्षको नौ महिनामा ९९ हजार ९९६ जनाले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएकोमा यो वर्षको नौ महिनामा ७९ हजार ६०७ जनाले लिएका छन्।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024