विदेश पठाउने भन्दै ३ लाख ठगी गर्ने अभियोगमा एकजना पक्राउ

16 February, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका ५६ वर्षीय महेश तामाङ रहेका छन्।

पीडितबाट तीन लाख ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा अभियुक्तले वैदेशिक रोजगारीका नाममा रकम असुली गरी हंगेरी पठाउने आश्वासन दिएको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन तथा आधिकारिक प्रक्रिया र निकायमार्फत मात्र विदेश जान सर्वसाधारणलाई आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024