प्रतिमा बाँस्कोटा
चितवनकी रानु श्रेष्ठ (नाम परिवर्तन) ले बेलायतस्थित डान्सबारमा ६ महिना नाचिन् । फिल्म क्षेत्रबाट डान्सबार छिरेकी श्रेष्ठले त्यसअघि काठमाडौंका विभिन्न बारमा काम गरेकी थिइन् ।
काठमाडौंका डान्सबारबाट आउने आम्दानी निकै कम भएपछि विदेशतिर आकषिर्त भएकी हुन् । ‘श्रीमानको साथीसँग मेरो चिनजान थियो । उहाँलाई जानकारी नदिई सुटुक्क बेलायत गएँ,’ उनीले भनिन्, ‘त्यहाँको डान्सबारमा नाचेर फर्किएकी हुँ ।’
झापा राजगढकी निशा डान्सबारका लागि ६ पटक कतार गइसकिन् । ‘अब मलेसिया जाने तयारी गर्दै छु,’ उनले भनिन् ।
उनी १७ वर्ष छँदा एसएलसी पास गरेर काठमाडौं आएकी थिइन् । पाटन क्याम्पस पढ्दै गर्दा फिल्म क्षेत्रमा काम गर्ने साथीहरूसँग चिनजान भएपछि उनी डान्सबारमा काम गर्न थालेकी थिइन् । ‘घरबाट आफूलाई चाहिने पर्याप्त पैसा नआउने भएकाले कामको खोजीमा डान्सबारमा पुगियो,’ उनीले भनिन्, ‘त्यही कामले विदेशी डान्सबारमा पुर्यायो ।’
काठमाडौंको तुलनामा विदेशी डान्सबारमा आकर्षक कमाई हुने उनीहरूको भनाइ छ । ‘यहाँको डान्सबारमा काम गरेर टिप्ससहित महिनाको ९ हजार रुपैयाँ पाउँथे,’ उनीले भनिन्, ‘कतारमा महिनाको ३५ हजार पाउँदा दंग पर्थेँ ।’
काठमाडौंमा तीन सयभन्दा बढी डान्सबार छन् । त्यहाँ काम गर्ने डान्सरहरूलाई यूएई, कतार, मलेसिया, ओमन, बहराइन, लेबनानजस्ता मुलुकमा पठाउन दलालहरू सक्रिय छन् । डान्सबार र रेस्टुरेन्टमा काम गर्ने युवतीलाई विदेश लैजान दलालहरू आकर्षक प्रलोभन बाँड्छन् । त्यसबापत उनीहरू दोहोरो फाइदा लिन्छन्, जाने युवतीले दिने लागत खर्च र विदेशी डान्सबारबाट पाउने कमिसन । ‘दलालले डान्सबारमा काम गर्न इच्छुक युवतीको ‘ग्यालमरस्’ तस्बिरहरू पठाउँछ, त्यही फोटोको आधारमा डान्सरहरूलाई काम दिने गर्छ,’ एक जानकारले भने, ‘उताबाट केटीलाई स्वीकार गरेपछि उनीहरूको भिषा बनाएर पठाइन्छ ।’ बेरोजगार भएर बस्नुभन्दा केही सिकौं भन्नेहरू समेत डान्स सेन्टर र डान्सबारमा पुगेपछि प्रलोभनमा परेर विदेशीने गरेको जानकारहरूको भनाइ छ । उतैबाट समेत एजेन्ट आएर युवती छनोटसमेत गर्ने गरेका छन् ।
विदेशी डान्सबारबाट फर्किएकी एक युवतीका अनुसार त्यहाँ यहाँभन्दा चौगुणा बढी तलब पाइन्छ । ‘नेपाली डान्सबारमा नाच्ने जस्तोसुकै नर्तकीले पनि १५ हजारभन्दा बढी पाउँदैनन्,’ उनले भनिन् ‘उता महिनाको ३५ देखि ६० हजारसम्म पाउन सकिन्छ ।’ प्रहरीका अनुसार खाडी मुलुकमा डान्सबार सञ्चालन गर्ने धेरैजसो भारतीय छन् । उनीहरूले महिनाको १ लाख भारतीय रुपैयाँ दिने सर्तमा नेपालका मानव तस्करसँग सम्पर्क गर्छन् । ‘तस्करले बीचमा बसेर १ लाख नेपाली खाने र ६० हजार तलब आउनेसमेत भन्ने गरेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृतले भने, ‘जतिसुकै राम्रो काममा लगाउने भनिए पनि त्यहाँ पुर्याएपछि काम राम्रो हुँदैन ।’ यहाँबाट पठाउने बेलामा डान्समात्र गराउने हो कसैले छुँदैन भनेर लगिने तर त्यहाँ पुगेपछि जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेकोसमेत पाइएको छ । यसरी नै वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले मोडल रमिता भण्डारीलाई गत वर्ष पक्राउ गरेको थियो । तर घटना प्रमाणित नभएपछि उनी निर्दोष सावित भएकी थिइन् ।
गत वर्ष सिंगापुरका डान्सबारमा जबरजस्ती काममा लगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरीले सिंगापुरबाट फर्किएका पीडित युवतीले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्रेको थियो ।
प्रहरीका अनुसार प्रलोभनमा पारेर नेपाली चेलीलाई विदेशी बारमा लैजाने क्रम पुरानै भए पनि यसबारे पर्याप्त उजुरी भने पर्दैन । बदनामी हुने डर र पैसाको लोभले धेरैले उजुरी नगर्ने प्रहरीको भनाइ छ । ‘यहाँबाट लिएर गयो तर उहाँ के काममा लगायो ? र लगाएको काम शोषण गर्यो भन्दै उजुरी नपरेसम्म कारबाही गर्न गाह्रो छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी राजेन्द्र श्रेष्ठले भने, ‘यस्ता घटनाका मुख्य प्रमाण भनेको पीडित महिला नै हुन्, उनले उजुरी नगरेको अवस्थामा कारबाही गर्न गाह्रो हुन्छ ।’
यसरी विदेश जानेमा न्यून आर्थिक अवस्था भएकाको संख्या बढी भएको प्रहरीले जनाएको छ । ‘सुरुमा पैसाको लालचमा परेर जान्छन् पछि फर्किएर आएपछि अर्को कामको विकल्प नभेटेपछि जाने गर्छन्’ विमानस्थलका सुरक्षा प्रमुख डीआईजी नारायण बस्ताकोटीले भने ‘गरिबी नै मुख्य कारण हो ।’ विदेशी डान्सबारमा काम गर्न जाने अधिकांश युवतीले परिवारका अन्य सदस्यलाई यसबारे जानकारी नदिने गरेको प्रहरीको भनाइ छ । ‘अस्ति समातेर राख्दा हामीलाई जोगाइदिनु पर्यो, सञ्चारमाध्यममा आयो भने गाह्रो हुन्छ, मेरो बाबु आमा, प्रेमीलाई समेत थाहा छैन भन्नेहरू थिए,’ बस्ताकोटीले भने ‘परिवारका सदस्यलाई ढाँटेर जानेहरू छन् ।’
कानुन व्यवसायीका अनुसार श्रम स्वीकृति नपाएको देशमा काम गर्न पठाएर पैसा असुल्नु मानव तस्करी हो । अधिवक्ता लेखनाथ भट्टराई कसैलाई प्रलोभनमा पारी गलत नियत राखेर आर्थिक फाइदा लिएर विदेश पठाउनु मानव ओसार-पसार भएको बताउँछन् ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ मा ‘कुनै प्रकारले ललाई फकाई वा प्रलोभनमा पारी विदेश पठाउनु वा लैजानु मानव ओसार पसार हो,’ भनिएको छ ।
मानव बेचबिखन र ओसार पसारको दण्ड सजायको हकमा फरकफरक व्यवस्था ऐनमा छ । तस्करी गरिएको हकमा १० देखि १५ सम्मको कैद सजाय र ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ । बेचबिखन भएको प्रमाणित भएमा कर्तव्य ज्यानसरह नै २० वर्ष कैद र २ लाख जरिवाना तोकिएको छ ।