शिरमा चर्चित पर्यटकीयस्थल पाँच पोखरी र जुगल हिमश्रृंखला। फेदीमा खोंच बनाएर अविरल बगिरहेको इन्द्रावती नदी। बीचको सुलुत्त परेको जमिनमा भोताङ गाउँ। रंगिन जस्तापाताले रंगिएको बस्ती। चिटिक्क परेका घर। सफाचट् आँगन र बाटोघाटो।
हिमाली गाउँमा यो परिवर्तन वैदेशिक रोजगारीले ल्याएको सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। २ हजार ५ सय घरधुरीको यो गाउँबाट परिवारका कम्तिमा एक जना बैदेशिक रोजगारीमा छन्। त्यहीँको कमाइले गाउँको रुप फेरिएको हो। ‘कमाउन छोराचेली विदेश जान थालेपछि झुप्राहरु जस्तापाताको रंगिन घरमा बदलिन धेरै समय लागेन,’ स्थानीय सूर्यबहादुर लामाले भने।
घरबाहिर मात्र होइन, भित्रको परिवर्तन पनि कम छैन। धुँवारहित तन्दुरी चुल्हो, आकर्षक भान्छा। घर-घरमा रंगिन टेलिभिजन। टाट, कार्पेट र गलैचा विछ्याइएका चोटाकोठा। ‘विदेशको कमाइले जीवन शैली नै बदलिदियो,’ गाउँका अगुवा लामा दंग पर्दै सुनाउँछन्। उनकाअनुसार गाउँबाट झण्डै ५ हजार जना विदेशिएको अनुमान छ। युवायुवती मात्र होइन लालाबालका आमा पनि कमाउन विदेशमा छन्।
बैदेशिक रोजगारीमा निस्कनेमा महिला अग्रपंक्तिमा छन्। घरेलुकामका लागि उनीहरु विदेश पुग्छन्। उमेरले ४० कटेका धेरै आमाहरु विदेश निस्किएका छन्। कतिपय घरका परिवारै बैदेशिक रोजगारीमा संलग्न छन्। परिवारको ६-७ जनासम्म विदेशमा रहनेको संख्या गाउँमा धेरै छ। ‘गाउँमा वर्षैभर विदेश जाने आउने क्रम चलिरहन्छ,’ लामाले भने, ”विदेश पानी पँधेरो जत्तिकै भएको छ।’
२०४६/०४७ को राजनीतिक परिवर्तनले हिंड्न डुल्न सहज भएपछि गाउँबाट विदेश जाने क्रम सुरु भयो। सुरुमा धेरै छिमेकी भारत जान प्रचलन थियो। यो मेसोमा चेली पनि भारत पुग्न थाले। भारतबाट फर्केका चेलीलाई गाउँमा नकरात्मक दृष्टिले हेर्न थालेपछि विदेश जाने ‘ट्रेण्ड’ मै परिवर्तन आयो। भारतको सट्टा खाडी मुलुकहरु आकर्षक गन्तव्य बन्यो। युवायुवती साउदी अरब, मलेशिया, कतार, कुबेत लगायत मुलुक पुग्न थाले।
१० वर्षसम्म चलेको द्वन्द्वले विदेशिने क्रमलाई ह्वात्तै बढायो। शान्ति प्रक्रियासम्म आइपुग्दा वैदेशिक रोजगारी ‘आदत’ कै रुपमा स्थापित भएको गाउँका अगुवा बताउँछन्। गाउँको झण्डै ७५ प्रतिशत जनसंख्या विदशेमा रहनुले स्थानीयले वैदेशिक रोजगारीमै भविश्य देखेको तथ्यलाई नकार्न सकिंदैन।
‘पैसाले पैसा तान्छ’ भने झैं गाउँबाट विदेश जानेले अर्कोलाई तान्ने पक्कापक्की छ। किन भने विदेश जान गाउँमा रकम पैंचो चल्छ। रोजगारीबाट फर्कनेले आफ्नो कमाइ विदशे जान चाहनेलाई पैंचो दिने परम्परा बसिसकेको छ। ऋण खोज्न अन्यत्र जान नपर्ने भएकाले वैदेशिक रोजगारी यात्रा सरल र सहज बनाएको गाउँका पाका मानबहादुर लामा बताउँछन्।
तामाङ समुदायको मात्र बसोबास रहेको गाउँमा महिनामै करिव १ करोड रुपैयाँ रेमिटेन्स भित्रने गरेको छ। हिमाली जग्गा भएकाले आलु, कोदो र केही मात्रामा मकै, गहुँ मात्र उब्जनी हुन्छ। लेकमा भेडा, बाख्रा र चौरी पाल्नु पूर्खाको मुख्य पेसा भएपनि हिमालको चिसो, जुका लाग्ने समस्या, चरिचरण क्षेत्र र बाटोघाटो अभावले नयाँ पुस्ता यसतर्फ आकर्षि हुन सकेन। उब्जनीले तीन महिना खान नपुग्ने भएकाले बैदेशिक रोजगार स्थानीयको आर्थिक स्रोतको प्रमुख माध्यम बनेको छ।
विदेशको कमाइ घर व्यवहारमा धेरै खर्च भएपनि गाउँको चहलपहल र रहनसहनमा देखिने गरी परिवर्तन आएको छ। दूरदराजको गाउँ ‘स्टान्डर्ड मेन्टेन’ गर्न सफल भएको देखिन्छ। केहीले राजधानीमा घरघडेरी जोड्न भ्याइसकेका छन्। आम्दानी भएसँगै जनजाती बालबालिका विद्यालय जान थालेका छन्। जिल्लामा भोताङ ‘जस्तापाताको रंगिन गाउँ’ ले चिनिन्छ।