विदेशमा रोजगार गुमाएका र सीमामा अलपत्र नेपालीको चाँडै उद्दार होस् : संग्रौला

12 May, 2020

काठमाडौं : नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र नेपालीको यथासक्य उद्धार गर्न सरकारसँग माग गरेकी छन् । कांग्रेसबाट छायाँ श्रममन्त्रीसमेत रहेकी नेतृ संग्रौलाले समस्यामा परेका नेपालीको उद्धारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद संग्रौलाले भारतलगायत विभिन्न देशमा रहेका नेपालीको उद्धारमा ढिलाई गर्न नहुनेमा जोड दिइन् ।

रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खिरहेका छन्।  उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चांडो उद्धार गरोस्,’ उनले भनिन्, ‘त्यस्तै नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका नेपालीलाई सैयौं नेपालीलाई ससम्मान स्वदेश भित्राएर नेपाल प्रहरी, सेना र स्वयमसेवक परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेन्टाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन माग गर्दछु ।’

उनले कोरोना संकट भन्दा पहिले नै निधन भएका नेपालीको शब विदेशमै अन्त्येष्टी गर्ने र परिवारलाई पचास हजार राहत दिने सरकारको प्रस्तावको विरोध गरिन् । अहिले एकसय भन्दा बढी नेपालीका शव विदेशमा अलपत्र छन् । उनीहरुका परिवार, आफन्त ‘कि सास देउ, कि लास देउ’ भनेर पर्खिरहेका छन्, उनले भनिन्, ‘उल्टै नेपाल सरकारले शव विदशमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई पचास हजार राहत दिने भनेको छ, जसले उनीहरुको भावना माथि ठेस पुगेको छ ।’

सांसद संग्रौलाले नेपाल पर्किन चाहनेलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु , अन्य सामाजिक संस्था र मध्य पूर्वमा रहेको श्रमिक संजालसंग सहकार्य गर्न पनि सरकारसँग आग्रह गरिन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024