कृष्ण सारु मगर
हेटौंडा : धादिङको निलकण्ठ नगरपालिका २ का गोकर्ण आलेमगर वैशाखको अन्तिम साता अनेकौं दुःखकष्ट झेलेर भारतबाट हिँडेको एक महिनामा धादिङ आइपुगे। भारतको मुर्गावार्सापुर भन्ने ठाउँमा काम गरिरहेका मगरको कोरोनाको कहरले रोजगारी गुम्यो।
कमाएर घर पठाउनुपर्ने बेलामा कमाउने ठाउँ पनि बन्द भयो र अलिअलि बचत भएको पैसा पनि खान बस्नमै सकिने भएपछि ज्यानको जोखिम मोलेर केही साथीसहित नेपाल फर्किए। सीमा नाकामा हप्तौं कुरेपछि बल्ल बल्ल आफ्नै खर्चमा धादिङ आउने मेसो मिलेपछि धादिङ आइपुगे। अब उनलाई भारत फर्किन मन छैन। ‘अर्काको ठाउँ भनेको अर्कैको रहेछ, अरू बेलामा घरमै छुजस्तो लाग्थ्यो जब संकट आइपर्छ अनि सबैभन्दा समस्या हामी बाहिरबाट गएकाले नै भोग्नुपर्ने रहेछ’, गोकर्णले भने, ‘अर्काको ठाउँमा दुःख बिसाउने मान्छेसमेत नभेटिँदो रहेछ। अब गाउँघरमै काम गर्ने मन छ।’
कोरोना महामारीबीचमा ज्यान जोगाएर फर्किन पाएकाले खुसी भए पनि यो खुसी कति दिन टिक्ने हो उनी आफैंलाई थाहा छैन। ‘खेतबारीको अन्नले वर्ष दिन खान पुग्दैन, सानोमा पढ्न सकिएन। अहिले क्षमताअनुसारको जागीर खोज्दै भारत पुग्नुपर्यो’, गोकर्णले भने, ‘अब गाउँमा बसेर के काम गर्ने अन्योलमा छु।’ उनीजस्तै बागमती प्रदेशका चार हजार पाँच सय ३५ जना सरकारले बन्दाबन्दी घोषणा गरेयता स्वदेश फर्किएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। तेस्रो मुलुकबाट समेत गरी हालसम्म चार हजार आठ सयजना बागमती प्रदेशवासी स्वदेश फर्किएको प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त लामाले बताए। स्थानीय तहहरूसँगको समन्वयमा प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लाका ९३ हजार चार सय ३४ जना भारतसहित विभिन्न देशमा छन्।
‘उनीहरूमध्ये कम्तिमा २५ प्रतिशत नागरिक विश्वभर बन्दाबन्दी खुलेपछि स्वदेश फर्कन सक्ने अुनमान गरेका छौं’, डीआईजी लामाले भने। तर, उनीहरू स्वदेश फर्किएपछि कसरी स्वदेशमै टिकाउने भन्ने तीनै तहको सरकारसँग स्पष्ट योजना छैन। संघ र प्रदेश सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक वर्ष २०७७÷७८ को बजेटमा पनि विदेशबाट फर्किएका र फर्केर स्वदेशमै बस्न चाहानेका लागि सम्बोधन गरिएको छैन। विदेशबाट जनशक्ति फर्कदा चुनौतीसँगै अवसरको पनि ढोका खुल्ने बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. खिमलाल देवकोटा बताउँछन्। ‘यसपाली काठमाडौं छाड्ने मात्र करिब १० लाख छन्, त्यसमाथि विदेशबाट उत्तिकै संख्यामा नेपाली गाउँ फर्कन सक्छ’, उनले भने, ‘यसलाई तीनै तहको सरकारले अवसरका रूपमा लिनुपर्ने हो तर पर्याप्त तयारी र योजना देखिएन।’
भारतीय कामदारको ठाउँमा आफ्नै जनशक्ति प्रयोग
सरकारले ठूला सपना देखाउनेभन्दा तत्काल रोजगारी दिने योजना ल्याउनुपर्ने देवकोटाको भनाइ छ। ‘ठूला योजनाबाट प्रतिफल लिन वर्षौं लाग्छ तर हामीलाई अहिले नै काम चाहिएको छ’, उनले भने, ‘त्यसका लागि अहिले काम गरेर अहिले पैसा आउनुपर्छ।’ तत्काल नयाँ रोजगारी सिर्जना गर्न सम्भव नभए पनि विदेशबाट फर्किएकाको सीप प्रयोग गर्न सकिने देवकोटाको भनाइ छ। ‘भाँडाकुँडा साट्नेदेखि कपाल काट्नेसम्म अधिकांश भारतीय छन्’, उनले भने, ‘त्यस्ता काम हामीले नै गर्नसक्छौं।’ विभिन्न कलकारखाना, मोटरसाइकल ग्यारेज, विद्युत् र प्लम्बिङलगायत दर्जनौं क्षेत्रमा विदेशबाट फर्किएकालाई काममा लगाउन सकिने देवकोटाको भनाइ छ। साथै तत्काल तालिम दिएर त्यस्ता जनशक्ति उत्पादन गर्न सकिने उनले बताए।
आफ्नै देश फर्की आयौं…
सुदूरपश्चिम प्रदेश : फर्केकाहरु भन्छन्, ‘रोजगारीको चिन्ता’
प्रदेश १ : रोजगारी कम प्राथमिकतामा
मुग्लानबाट फर्किएकालाई कर्णालीमा अवसर
प्रदेश २ : बेरोजगारीको चाप, नीति अभाव
गण्डकी प्रदेशमा फर्किएका भन्छन्, ‘मरे पनि आफ्नै देशमा मरौं भनेर आयौं’
प्रदेश ५ : बेरोजगारको लावालस्कर
तथ्यांक राखेर काममा लगाउनुपर्छ
अर्थ क्षेत्रका जानकार डा. एम सिलवालले कस्ता जनशक्ति गाउँमा आउँदै स्थानीय तहले तथ्यांक राखेर तत्काल काम दिन सक्नुपर्ने बताए। ‘कस्तो स्तरको मान्छे आउँछ, श्रम गर्छ कि व्यावसायिक ज्ञान भएका छन्’, उनले भने, ‘अझै पनि हामी कतिपय प्राविधिक जनशक्ति भारतकै भरमा छौं, कृषि क्षेत्रमा पनि दक्ष जनशक्ति छैन।’ ठूला लगानीका कृषि उत्पादनमा समेत विदेशबाट फर्किएकाले सहजै रोजगारी पाउने सिलवालको भनाइ छ। साथै सीप जानेकालाई घरेलु तथा साना उद्योग सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताए।
कृषि सबैभन्दा उपयुक्त विकल्प
विदेशबाट आएकालाई गाउँमै टिकाउने सबैभन्दा उपयुक्त विकल्प कृषि भएको अर्थ तथा योजनाविद्हरूको भनाइ छ। उत्पादन र बजारलाई जोड्न सरकारले सहयोग गर्नुपर्ने प्रदेश नीति तथा योजना आयोग बागमतीमा पूर्वउपाध्यक्ष डा. देवकोटाको भनाइ छ। ‘किसानले उत्पादन गर्नुभन्दा पहिला चाहिने मल, बीउलगायत अन्य कुराको व्यवस्थापन, उत्पादनपछि त्यसलाई भण्डारण र बजारीकरण सरकारले उचित व्यवस्था गरिदिने हो भने कृषि नै उपयुक्त विकल्प बन्नसक्छ’, उनले भने।
घरभरी मान्छे, खानेकुरा अभाव
विदेशबाट फर्कनेको व्यवस्थापन घर फर्किसकेकालाई गाउँमै टिकाउन सरकारलाई चुनौती छ। मकवानपुरको पश्चिमी राक्सीराङ गाउँपालिका ५ का रामकृष्ण चेपाङ पत्नी र दुई नातीसँग बस्दै आएका थिए। तर, बन्दाबन्दीपछि ६ जना छोराबुहारीसहित १२ घरमा भेला भएका छन्। बारीमा लगाएको मकै पाकेको छैन तर घरमा खानेकुरा अभाव छ। ‘अलेली कमाए ल्याएको पैसा पनि सकिसक्यो, गाउँमा केही काम पाइँदैन’, रामकृष्णका छोरा विनोदले भने, ‘अब भारत नफर्कने भनेको तर घरभरी यत्रो जहान बसेर मात्र कसरी खान पुग्छ र ? ’ उनी भारतमा होटलमा काम गर्दथे।
आफ्नै देश फर्की आयौं…
सुदूरपश्चिम प्रदेश : फर्केकाहरु भन्छन्, ‘रोजगारीको चिन्ता’
प्रदेश १ : रोजगारी कम प्राथमिकतामा
मुग्लानबाट फर्किएकालाई कर्णालीमा अवसर
प्रदेश २ : बेरोजगारीको चाप, नीति अभाव
गण्डकी प्रदेशमा फर्किएका भन्छन्, ‘मरे पनि आफ्नै देशमा मरौं भनेर आयौं’
प्रदेश ५ : बेरोजगारको लावालस्कर
गाउँघरमा प्राय विदेशबाट फर्किएकाको संयुक्त परिवारमा खानेकुराको समेत अभाव हुँदै गएको छ। यस्ता व्यक्तिलाई तत्कालै कुनै काममा जोड्न नसके निराशासँगै अपराधको आँकडा बढ्न सक्ने अर्थ क्षेत्रका जानकार डा. सिलवाल बताउँछन्। ‘कोेरोनाले भन्दा कयौं गुणा बढी मान्छे आत्महत्या गरेर मरेको तथ्यांक आएको छ, त्यसैले रोगभन्दा भोक ठूलो समस्या हो’, उनले भने, ‘विदेशबाट फर्किनेलाई स्वदेशमै आशा देखाउन र उर्जाशील भएर काम गर्ने वातावरण बनाउन सक्नुपर्छ।’
१७ लाख मान्छेको रोजगारी प्रभावित हुने अनुमान
देशको सबैभन्दा धेरै जनसंख्या रहेको बागमती प्रदेशभित्र कोरोनाका कारण विदेशबाट फर्कनेसहित करिब १७ लाख जनाको श्रम, रोजगारी र उद्यम प्रभावित हुने प्रदेश नीति तथा योजना आयोगको अनुमान छ। ‘कृषि कर्मदेखि केही न केही काममा जोडिएका अधिकांश मान्छेको काम प्रभावित भएको छ’, आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले भने, ‘आमनागरिकलाई काममा जोडेर उत्पादन वृद्धि गर्नु चुनौती छ।’ करिब १५ लाख जनशक्तिलाई काममा जोड्ने गरी नीति बनाएको उनको भनाई छ।
बजेटले रोजगारीलाई छोएन
संघीय सरकारसँगै सातवटै प्रदेशले स्वास्थ्य क्षेत्रमा सुधार र रोजगारी सिर्जनातर्फ पर्याप्त योजनासहित बजेट विनियोजन नगरेको पूर्वउपाध्यक्ष देवकोटाको भनाइ छ। ‘प्रदेश ५ बाहेक सबैले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ तर रोजगारी सिर्जना गर्ने मूर्त बजेट देखिँदैन’, उनले भने, ‘कोरोनासँग जुध्न र धरासायी बनेको अर्थतन्त्रलाई उकास्दै लाखौं बेरोजगारलाई रोजगारी दिने स्पष्ट खाका देखिँदैन।’