विदेशबाट नेपालीको भोलिदेखि उद्धार, बर्मा र यूएईबाट आउँदैछन् २३६ जना

4 June, 2020

२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ।

स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।

सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।

यस्तै शुक्रबार नै संयुक्त अरब इमिरेट्स (यूएई)बाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्‍याउने कार्यविधि बनाएको छ । 

सोही बमोजिम शुक्रबार बर्माबाट आउने वागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पुर्‍याउने जिम्मा गुरुङले पाएका हुन् । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजानेछन् । त्यहाँ सरकारले होल्डिङ केन्द्र बनाएको छ । उनीहरूको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ ।

होल्डिङ केन्द्रमै उनीहरूको सबै व्यक्तिगत विवरण लिएर केहीबेर आराम गराएपछि सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई जिम्मा लगाउने उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए ।  स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024