गोरखापत्र समाचारदाता
काठमाडौं, वैशाख १३ गते । नेपाली कांग्रेसले नेपाल बाहिर रहेका करीब ५० लाखको नेपालीलाई अभिभावकत्व प्रदान सरकारसँग माग गरेको छ । विदेशमा रहेका ५० लाख नेपालीकै एकमुष्ट स्वदेश फिर्ती होइन, अप्ठ्यारोमा परेर फर्कन चाहेका या फर्काउनु पर्ने स्थिति बनेका नेपालीलाई मात्रै स्वदेश फर्काउनका लागि तत्काल ठोस योजना बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।
विदेशमा रहेका नेपालीबारे ११ बुँदे पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेसले सचेतना, राहत, उपचार र उद्धारमा तदारुकता बढाऔं भन्ने अपील पनि गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोविड १९) बाट विश्वभरि छरिएर रहेका नेपालीबारेमा प्रधानमन्त्री एवम् पराराष्ट्र मन्त्रीको तहमा पटक–पटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण तथा माग प्रस्तुत गरिएको उल्लेख छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले हालसम्म विदेशमा रहेका ५० नेपालीको मृत्यु भएको र एक हजार दुई सयभन्दा बढी नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गर्नुभयो । सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न र नेपाल सरकारले थप कूटनीतिक एवम् व्यवस्थापकीय पहल गर्न जरुरी रहेको भनाइ कांग्रेसको छ ।
रोजगारी र राहतबारे पार्टीको कांग्रेसको दृष्टिकोणमा भनिएको छ, विदेशमा रहेका लाखौं नेपालीले रोजगारी गुमाएका छन्, अस्थायी रोजगारमा रहेकाको स्थिति झनै कष्टकर रहेकाले रोजगारी गुमाएका तथा रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण गर्नु सरकारको जिम्मेवारी हो ।
पीडित नेपालीको उद्धारबारे ठोस रणनीति बनाऔं भन्दै कांग्रेसले कुवेत, बहराइनलगायतका देशले गैह्र कानूनी रुपमा रहेका विदेशी श्रमिकलाई आममाफीको घोषणा गरी बिना कारबाही देश फर्कने समय सीमा तोकेकाले उद्धारका लागि तत्कालै रणनीति निर्माण गर्न आवश्यक रहेको जनाएको छ ।
अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका नेपालीलाई ‘आउन दिन्नौं’ भन्ने मनोविज्ञान र व्यवहार प्रस्तुत गरिँदा मानवाधिकार र मानवीयता दुबै दृष्टिले गलत हुन्छ भन्दै प्रवक्ता शर्माले देशलाई रेमिटेन्स पठाएर अर्थतन्त्र जोगाउन योगदान गरिरहेका र एकदमै समस्यामा परेका नेपालीलाई उद्धार गर्नु राष्ट्रको कर्तव्य भएको बताउनुभयो ।
प्रवक्ता शर्माले पारिवारिक स्थितिको अध्ययन एवम् व्यक्तिको चाहना र परिस्थितिको सन्तुलन विश्लेषण गर्दै आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धारको कार्यदल निर्माण गरेर हरसम्भव व्यावहारिक प्रक्रियाको थालनी गर्न आवश्यक रहेको छ भन्नुभयो ।
कांग्रेसले सिमानामा आइपुगेका नेपालीलाई सरकारले आफ्ना नागरिकको संरक्षण र व्यवस्थापन गर्ने दायित्व र क्षमता प्रस्तुत गर्नैपर्नेमा जोड दिएको छ ।
कांग्रेसले भनेको छ, “विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तिर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर नेपाल देशले उच्च आत्मीयता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्नै पर्दछ । श्रमिक र विद्यार्थीका बारे विशेष निर्णय आवश्यकता अनुरुप राज्यले गर्न जरुरी छ ।”
विदेशमा रहेका नेपालीले नेपालमा अर्बौं रुपैयाँ लगानी गरेको चर्चा गर्दै कांग्रेसले स्वदेशमा रहेका साना–ठूला व्यवसायीलाई विविध प्रक्रियाले व्यावसायिक सहजताको प्याकेज निर्माण गर्न सरकारसँग माग गरेको छ । विश्वभरका वौद्धिक क्षेत्रलाई अपिल गर्दै कांग्रेसले नेपालका लागि स्वदेश र विदेशका सबै बौद्धिक मस्तिष्कले तत्कालीन र दीर्घकालीन पुनर्उत्थानका लागि आवश्यक वहस र संवाद प्रारम्भ गर्न अनुरोध गरेको छ ।