डा. युवराज संग्रौला
एक्काइसौं शताब्दी भूमण्डलीकरणको युग हो, जसले संकीर्ण ‘सांस्कृतिक’, भाषिक र राष्ट्रियताका वृतहरूलाई तीव्र गतिमा भत्काइरहेको छ। तर यसको फाइदा भने एकलौटीरूपमा विकसित राष्ट्रहरूले मात्र उठाइरहेका छन्। र, गरिब राष्ट्रका गरिब, कमजोर र पीडित मानिसमाथि भने अमानवीय व्यथा र पीडा थपिएका छन्। गरिबका अशिक्षित छोराछोरी र धनी एवं राष्ट्रको सरकारी सेवामा पहुँच भएका सभ्रान्तहरूका छोराछोरीका बीचमा भेदभावको ठूलो खाडल तयार भएको छ। यसो भन्दा र लेख्दा सभ्रान्तहरू रिसाउँछन् र डस्न पनि तयार हुन्छन् तर पनि सत्य बोल्न, भन्न र लेख्न इमानदार मानिस तयार हुनैपर्छ। पीडाको विष पनि पिउनैपर्छ। विकृत रुढीवादी मान्यताहरूको जगमा उभिएको समाजमा इमानदारलाई बेइमानीले उछिन्नेमात्र होइन, प्रहार पनि गर्छ। काम गर्नेलाई काम नगर्नेले नोकर बनाउँछ। सामाजिक प्रवृति असामाजिक व्यक्तिवादी प्रवृतिबाट पराजित हुन्छ। नेपाली समाजका पछौटेपनभित्र लुकेका यी प्रवृति नै वर्तमान संकटका कारण हुन्। यदि नेपाली राष्ट्रियता, सामाजिक परिवर्तन र भौतिक उत्पादनका विषयमा सकारात्मक चिन्तनहरूको निर्माण गर्ने हो भने अब यस्ता प्रवृतिलाई उदङ्ग्याउने सांस्कृतिक आन्दोलन सुरु गर्नुपर्छ।
पहिलो प्रहार पलायनवादमाथि हुनुपर्छ। सबैले जानेकै कुरा हो- प्रत्येक युवाले विकसित युरोपियन एवं अमेरिकन देशलाई आफ्नो सपना बनाएको छ नेपालमा। अष्टे्रलिया, अमेरिका र युरोपियन देशको भिसा पाउनु र त्यहाँ जान पाउनुलाई भाग्य मानिन्छ नेपालमा। किन? १० वर्षको जनयुद्धपछि, त्यस जनयुद्धमा लडेका ६/७ हजार योद्धालगायत् समर्थक/शुभेच्छुक सबै युवा कार्यकर्तालाई लालसेना बनाएर शिविरमा हाल्यो, तत्कालीन नेकपा माओवादीले। जतिबेला बृहत् शान्ति सम्झौताको छलफल भइरहेको थियो। माओवादी चाहन्थ्यो- ती सबै नेपाली सेनामा एकीकृत हुन पाउन्। उसले त्यहाँ शिविरमा पुर्यामइएका युवाहरूलाई पढाएर वैज्ञानिक, इन्जिनियर र चिकित्सक बनाउने एउटा अलग विश्वविद्यालय माग गरी शिविरहरूलाई कलेजमा परिणत गर्ने प्रस्ताव राखेन, सोच पनि बनाएन र योजना पनि बनाएन। किन?
देशमा राष्ट्रको लगानीबाट खुलेका चिकित्सा, इन्जिनियरिङ अनि नर्सिङ क्याम्पसमा पढ्ने विद्यार्थीहरूको निकै ठूलो हिस्सा विदेशिएको छ। पढ्न गएको पनि फर्किएको छैन। फर्किएको पनि फेरि उतै फर्किएको छ। जान नपाइसकेको त्यतै जानका लागि दिन/रात प्रयास गरिरहेको छ। उसले हिजो ती क्याम्पसमा पढ्दा तिरेको शुल्क नगण्य छ। तर सरकारले लगानी गरेको त्यो रकम गरिब जनताले भोकभाकै तिरेको मालपोतबाट अनि पियन र मुखियाको तलबबाट कट्टा गरेको करबाट उठेको थियो। नेपाली युवा धनी राष्ट्रका सस्ता कामदार बनिरहेका छन् तर पनि राष्ट्रका नीति बनाउनेहरूलाई किञ्चित चासो छैन। किन?
विभिन्न धामका नाममा, विभिन्न सम्प्रदायका नाममा, विभिन्न आश्रमका नाममा चन्दा असूली भइरहेका छन्। नेपाली जनताले धाम र आश्रममा तिरेका चन्दाबाट अरबौं रकम विदेशिएको छ। तर सरकारी स्कुल जीर्ण छन्। गरिबका छोराछोरी त्यहाँ केवल पढेको बहाना गर्न बाध्य छन्। धनी र सभ्रान्त अनि कर्मचारीका छोराछोरी निजी आवासीय स्कुलमा पढ्छन्। उनीहरू नै राम्रो अंकमा उत्तीर्ण पनि हुन्छन्। उनीहरू नै सरकारी जागिर र सरकारी पैसामा डाक्टर, इन्जिनियर, नर्स र व्यवस्थापक पनि बन्छन्। गरिब र अनुत्तीर्ण भएकाहरूचाहिँ अपराध गर्ने ‘डन’ का कार्यकर्ता, तोडफोड गर्ने विद्यार्थी वा गल्फमा कामदार बन्छन्। पढेलेखेकाहरू बाँकी कि त विदेशिन्छन् कि देशमा हाकिम बन्छन्। यो संस्थागत भेदभाव किन पालिएको छ, थाहा छैन। नेता र कर्मचारीले मानिस विदेश पठाउने कारखाना खोलेका छन्, किन? ठूलठूला परिवर्तनका कुरा गर्ने साहित्यकार, योजनाविद्, कलाकार, बुद्धिजीवी, व्यवसायीका छोराछोरी विदेशिन्छन््, किन? अनि ठूलठूला क्रान्तिका कुरा गर्नेका पनि छोराछोरी विदेशिनैपर्ने किन?
पलायनवादी यस संस्कृतिका पूजकहरूले ‘भूमण्डलीकरण’ को तर्क दिन्छन् र भन्ने गर्छन्- ‘अहिलेको युगमा’ पनि अब राष्ट्रियताको नारा? अब दुनियाँ एउटै भइसक्यो। घरमा प्रत्येक बाबुआमाले आफ्ना छोराछोरीका कानमा भरेको विचार हो यो। जसले ‘भूमण्डलीकरण’ लाई ‘राष्ट्रियता’ को विकल्पका रूपमा प्रस्तुत गरेको छ। र, यसले नेपाली युवामा श्रमप्रतिको सम्मान र मर्यादालाई निषेध गर्दै सजिलो कमाई कथित सुखी जीवनको यथार्थताविहीन सपना भरेको छ। संसारमा दुई किसिमबाट ‘भूमण्डलीकरण’ इतिहास तयार भएको छ। एउटा ‘उपनिवेशको माध्यमबाट’ अर्को परनिर्भर, परआश्रित र हीनताबोधक बनाएर। धेरै मानिसलाई भ्रम छ- हिजो भूमण्डलीकरण थिएन भन्ने। थियो हिजो पनि। हिजो पनि संंसारभर विदेशीहरू डुलिरहेकै थिए र शासन गरिरहेका थिए। आज उनीहरूले माध्यम बदलेका छन्। उनीहरूका समाजमा विकृतिका रूपमा बढेका यौन स्वेच्छता, लागुपदार्थ, घुमन्ते जीवनको आकर्षणलाई तेस्रो मुलुकका समाजमा एउटा आधुनिक संस्कृतिका रूपमा प्रस्तुत गरिएको छ। अर्थात् नेपाल जस्तो परम्परावादी समाजमा रातो कपाल पार्नु, अंग्रेजीमा गीत गाउनु, फाटेको जिन्स र खुल्ला प्रेम प्रदर्शन गर्नुलाई सभ्यता बनाइरहेको छ। त्यसैले एउटा युवाले सोच्छ- त्यसो नगर्नु त हीनता वा असभ्यता हो। त्यसैले ऊ आफू जस्तो नभएर अरु जस्तो हुन चाहन्छ। यसलाई भनिन्छ- ‘हेजीमोनी।’ हेजीमोनी आजको भूमण्डलीकरणको चरित्र हो।
यो पलायनताप्रतिको समर्पण हाम्रो आफ्नै समाजको कमजोरीबाट जन्मिएको प्रतिफल पनि हो। हाम्रो समाजले अपनाएका भाग्यवादी, दैवत्ववादी, रुग्ण चिन्तनले परिवर्तनलाई निषेध गर्छन्। वैज्ञानिकतालाई अपमान गर्छन्। श्रमलाई हेला गर्छन्। श्रमद्वारा अर्थ आर्जन गर्नुलाई अपमान गर्छन्। अन्ततः हाम्रा सामाजिक रुग्णताले प्रतिभामाथि बन्देज लगाउँछन्। निरासाहरू सिर्जना गर्छन्। त्यसैले इमानदार र श्रम गर्ने मानिसले अनेकौं चुनौतीहरूको सामना गर्नुपर्छ। जब कोही सिर्जनशील मानिस प्रतिबद्ध भएर काम गर्न थाल्छन्, त्यसलाई समाप्त पार्न हजारौं हात उसका खुट्टा तान्न तन्किन्छन्। जब यी घटना देख्छन्, युवाहरू आत्तिन्छन् आफ्नो भविष्यप्रति। कक्षामा जो राम्रो गर्छ, उसका साथी उसका शत्रु हुन्छन्। कक्षामा जो राम्रो पढाउँछन्, उसको साथी नै उसका विरुद्धमा विद्यार्थी आन्दोलन गराउने षड्यन्त्र गर्न थाल्छन्। जुन चिकित्सक, जुन इन्जिनियर, जुन वकिल, जुन पत्रकार, समाज, देश र गरिबका लागि काम गर्छन्, उनीहरू आँखाका कसिङ्गर हुन्छन्। नेपाली समाजका यी प्रवृतिले युवाहरूको पलाएन भएको छ किनकि ऊ आफ्नो भविष्य देख्दैन नेपालमा। जो हिम्मत गर्छ बस्न, उसले जीवनका भयङ्कर खतरासँग संर्घष गर्नुपर्छ।
माथि उठाएका थुप्रै प्रश्नको एउटै उत्तर हो- हामी नेपालीहरूको विद्यमान सामाजिक चेतना संकीर्ण मान्यताहरूबाट बनेको छ, जसले सकारात्मक सोच, चिन्तन र कार्यहरूलाई परोक्ष वा प्रत्यक्षः रूपमा निषेध गर्छ। तसर्थ पलायनतासँग जुध्ने हिम्मत भएका राजनीतिक नेताहरू, व्यवसायीहरू, बौद्धिकहरूले संघर्ष गर्न सक्नुपर्छ। अतः यदि नेपाली राष्ट्रियता र समाजको परिवर्तनलाई हामीले सही बाटोमा ल्याउने हो भने नेपाली युवाहरूमा आधुनिकता, राष्ट्रियता, आशावादी चिन्तन र सृजनात्मकताबारे अब स्कुलमा बहसहरू सुरु हुनुपर्छ। अब एकपटक फेरि शिक्षकहरू जुर्मुराएर राष्ट्रका लागि उठ्नु आवश्यक छ। राजनीतिका झण्डा त हामीले धेरै पटक उठायौं, अब एकपल्ट राष्ट्रको झण्डा उठाउने हिम्मतका लागि जुट्ने समय आएको छ।
एउटा यस्तो सपना देखौं कि हिजो जीवनको भरोसा नदेखेर विदेशिएका युवा, चिकित्सक, इन्जिनियर, वकिल, समाजशास्त्री, सबै अब देश बनाउने चाहनाले जुम्ला र ताप्लेजुङ फर्कन सकून्। यसो भयो भने राष्ट्रमा विरोधीको चलखेल आफैं समाप्त हुनेछ। त्यसैले अब हाम्रा युवाहरूलाई ‘हेजिमोनी’ का विरुद्ध शिक्षाको लहर निर्माण गर्ने बेला आएको छ। राष्ट्रियताको संरक्षण समृद्ध अर्थतन्त्रको निर्माणविना सम्भव हुँदैन र समृद्ध अर्थतन्त्रको निर्माणमा शिक्षित मानिसहरू तथा दक्ष वैज्ञानिक र प्राविधिज्ञहरूको आवश्यकता पर्छ। अहिले देशमा ‘पलायनवादी’ संस्कृतिले यस पक्षमा ठूलो समस्या सिर्जना गरिसकेको छ। आम युवा पुस्तालाई कोरा राष्ट्रवादको नारा दिएरमात्र पुग्दैन।