विकराल बन्दै विद्यार्थी पलायन

15 August, 2025

देशमा अध्ययनका लागि विद्यार्थी पलायनको गति विकराल बन्दैछ । वार्षिक रूपमा एक लाखको संख्यामा विद्यार्थी विदेश जाने गरेको तथ्यांकहरूले पुष्टि गरेका छन् । यसरी विद्यार्थी अध्ययनका लागि विदेश जाँदा अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । अर्काेतर्फ स्वदेशमा भएका शिक्षण संस्था विद्यार्थीविहीन हुँदैछन् । शिक्षण संस्थामा लगानी गर्ने व्यक्तिहरूको लगानी उच्च जोखिममा परेको छ । सरकारी लगानीमा चलेका शिक्षण संस्थाहरूको अवस्था त झन् टिठलाग्दो छ ।

उच्चस्तरमा विद्यार्थी विदेश पलायन हुनु सरकार र सरोकार पक्षको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । विद्यार्थी अध्यनका लागि विदेश जान किन लालायित भएका हुन् ? कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विदेश जानुपर्ने बाध्यता हो कि रहर ? हाम्रा शिक्षण संस्थाहरूप्रति वितृष्णा बढ्नुका कारण के होलान् ? विद्यार्थी विदेश अध्ययन गर्न जाँदा राज्यलाई तत्काल र दीर्घकालमा के के फाइदा र हानि हुन सक्ला ? वस्तुनिष्ठ लेखाजेखा गर्नुपर्छ । वैदेशिक अध्ययनमा बाहिरिएका विद्यार्थी र तिनले लाने गरेको रकमको तुलनात्मक अवस्था चिन्तनीय देखिन्छ ।

सरकारी लगानीमा चलेका शिक्षण संस्थाको अवस्था त झन् टिठलाग्दो छ। उच्चस्तरमा विद्यार्थी विदेश पलायन हुनु सरकार र सरोकार पक्षको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ।

बाहिरिएका विद्यार्थी र रकम : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक हेर्ने हो भने आव २०७२/७३ मा ३७ हजार १ सय ४८ विद्यार्थीले २० अर्ब १३ करोड रकम बाहिर पुर्‍याएका थिए भने आव २०८०/८१ मा १ लाख १२ हजार ९ सय ६८ विद्यार्थीले १ खर्ब २५ अर्ब रकम बाहिर पुर्‍याएका थिए । वैदेशिक अध्ययनमा जान मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने हुन्छ । यसरी प्रमाणपत्र लिने भिसा अस्वीकृतलगायत कारणले सबै विदेश जाँदैनन् । पछिल्ला तथ्यांकअनुसार अध्ययनका लागि जाने देशहरूको प्राथमिकतामा अस्ट्रेलिया, जापान, बेलायत, क्यानडा, अमेरिका, कोरिया, भारत क्रमश: प्रमुख देखिन्छन् । विदेश अध्ययनमा जाँदा अर्बौं रुपैयाँ पनि बिदेसिन गएको छ । तथापि वैदेशिक अध्ययनमा जाँदा देखिएको खर्चलाई मात्रै हेरर नकारात्मक धारणा बनाउनु न्यायोचित हँुदैन । एक सबल र सफल नागरिक बनाउन शिक्षामा गरिएको लगानीको प्रतिफल व्यक्ति र राज्यले दीर्घकालसम्म पाउने हुन्छ ।

वैदेशिक अध्ययनमा आकर्षण बढ्नुका कारण : वैदेशिक अध्ययनमा आकर्षण बढ्नुका विविध कारण हुन सक्छन् । अहिलेको विश्व भूमण्डलीकरणको प्रतिस्पर्धी युगमा नयाँ ठाउँहरूमा गएर गुणस्तरीय शिक्षा हासिल गर्ने अपेक्षा हुनु स्वाभाविकै हो । नयाँ ठाउँ हेर्ने नयाँ कुरा सिक्ने जिज्ञाशा र अवसरको खोजी गर्नुलाई अन्यथा मान्न सकिन्न । प्रतिस्पर्धी युगमा समयानुकूल शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नु अभिभावक र सरकारको दायित्व पनि हो । वैदेशिक अध्ययनमा जाने अधिकांश विद्यार्थीले सुरुको जाने बेलामा खर्च गरे पनि पछि पढ्दै कमाउँदै गर्ने अवसर पाउँछन् । अझ कतिपय विद्यार्थीले नेपालमा परिवारलाई खर्चसमेत पठाउँछन् । त्यसकारण ऋणधन गरेर भए पनि विदेश जाने गरेको कैयौं उदाहरण छन् । अर्कोतर्फ एकपटक विदेश गइसकेका विद्यार्थी त्यहाँको रहनसहन सुविधा तथा वातावरणीय अनुकूलताका कारण सकभर नफर्किने प्रयासमा हुन्छन् । यसका कारण अन्य पनि छन् ।

कसरी पर्छ असर ? : माथिल्ला तहको विद्यार्थीको तुलनामा कक्षा १२ उत्तीर्ण भएपश्चात् बिदेसिनेको संख्या उच्च छ । विद्यालय तहका कक्षाहरूमा अध्ययनका क्रम नै उनीहरूको लक्ष्य उच्च शिक्षाको लागी विदेश जाने मनोविज्ञान बनाइसकेका हुन्छन् । देशभित्रका कलेजहरू विद्यार्थीविहीन हुने क्रम बढ्दो छ । निजी क्षेत्रमा खुलेका शिक्षण संस्थाहरूको लगानी डुब्ने अवस्थामा पुगेको सञ्चालकहरूको गुनासो र चिन्ता छ । इन्जिनियरिङ अध्ययन संस्थालगायतका लागि छुट्ट्याइएको छात्रवृत्ति कोटासमेत पर्याप्त आवेदन नपरेका कारण खेर जाने गरेको छ । कीर्तिपुरलगायतका कतिपय क्याम्पसमा सञ्चालित विषयगत संकायहरूमा विद्यार्थी संख्या न्यूनमात्रै नभएर शून्य नै भएका छन् । अर्थात् विद्यार्थीको घट्दो आकर्षणका कारण शिक्षण संस्था र त्यहाँ कार्यरत जनशक्तिको भविष्य नै अनिश्चित बन्दै गएको छ ।

अध्ययनका लागि बिदेसिएका युवा जनशक्ति यथाशक्य विदेशमा नै बस्ने प्रयास गरेका हुन्छन् । ज्यादै न्यून संख्यामा मात्र स्वदेश फर्किने गरेको पाइन्छ । विदेशमा अध्ययन गर्न जाने फेसनको रूपमै विकास भएको जगजाहेर छ । यस्तो विषम परिस्थितिका कारण देशमा युवा जनशक्तिको ह्रास आउने क्रम बढ्दो छ । रोजगारीका लागि र अध्ययनका लागि युवा जनशक्ति बिदेसिने प्रवृत्तिले निरन्तरता पाइराखेमा देश वृद्धाश्रममा परिवर्तन नहोला भन्न सकिन्न । देश विकासका लागि आवश्यक दक्ष युवा जनशक्तिको अभावमा कति समयसम्म रेमिट्यान्सको आधारमा रमाउने हो ? यकिन छैन । आफ्नो देश विकास नगरेर रेमिट्यान्सलाई प्रमुख आयस्रोत मान्नु सुन्निएर मोटाउनु जस्तै हो ।

निष्कर्ष : विद्यार्थीको वैदेशिक अध्ययनको मोहलाई परिवर्तन गरेर क्रमश: स्वदेशतर्फ आकर्षण गर्ने काम कठिन भए पनि असम्भव चाहिँ छैन । यसका लागि विभिन्न माध्यम र उपाय हुन सक्छन् । शिक्षण संस्थाहरूको व्यवस्थापनलाई गुणस्तरीय र समसामयिक हुनुपर्छ भने शिक्षा नीति भविष्यदर्शी बनाउनु, पाठ्यक्रम र शिक्षण विधि समयको मागअनुसार व्यावहारिक र रोजगारमुखी बनाउनु पर्छ । शैक्षिक क्यालेन्डर निर्माण गरेर कडाइका साथ पालन गर्नु, शिक्षण पेसामा अब्बल र समर्पित जनशक्तिलाई प्रवेशका लागि आकर्षक सेवासुविधाका प्याकेज ल्याउनु र विद्यार्थीलाई पढ्दै कमाउँदैको अवसर प्रदान गर्नुपर्छ । यसैगरी, शिक्षण संस्थाहरूलाई विशुद्ध प्राज्ञिक स्थलको रूपमा विकास र विस्तार गर्नुपर्छ अनि विदेशमा अध्ययन पूरा गरेकाहरूलाई स्वदेश फर्काउन आकर्षक सुविधा र सम्मानका योजनाहरू ल्याउनुपर्छ । देशमा बसेर केही हँुदैन, विदेशमा सबैथोक पाइन्छ भन्ने नकारात्मक मानसिकतालाई चिर्न सरकार र सरोकार पक्षले दूरदर्शी योजनाहरू ल्याउने र आक्रामक कार्यान्वयन गर्ने विषय आजको खाँचो हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024