ललितपुर महानगरले श्रमिकलाई राहत वितरण गर्ने

29 March, 2020

लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नसकेका श्रमिकहरूलाई ललितपुर महानगरपालिकाले वडामार्फत राहत उपलब्ध गराउने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले पाँच दिनदेखि लकडाउन गरेकाले उनीहरूको आम्दानी रोकिएको छ । दैनिक ज्यालादारी रोकिएपछि उनीहरूको परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि महानगरले राहत वितरण गर्न लागेको हो । 

संघीय सरकारको योजनाअनुरूप दैनिक श्रम गरेर जीवीकोपार्जन गर्नेलाई भोकै नराख्ने गरी राहत वितरण गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । महानगरभित्रका श्रमिक परिवार कोही पनि भोकै बस्नु नपर्ने गरी वडाबाट राहत वितरण हुने महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समस्यामा पर्न‘भएका नगरवासीलाई आफ्नो वडाध्यक्ष तथा वडासदस्यहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’ 

दिउँसो कमाएर बेलुका खानुपर्ने श्रमिकलाई लकडाउनले निकै गाह्रो हुने भएकाले राहत दिने निर्णय गरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताए । उनले भने, ‘कोही भोकै नबसुन् भनेर राहत वितरण गर्ने निर्णय गरेका हौँ ।’ वडाले वडामा बसोवास गर्ने दैनिक ज्यालादारी गर्ने श्रमिकको तथ्यांक केही दिनअघिबाटै लिन सुरु गरिसकेको छ । तथ्यांक आएपछि राहत वितरण सुरु गरिने महानगरले जनाएको छ । प्रवक्ता महर्जनका अनुसार आवश्यकताअनुसार संघीय सरकार, प्रदेश सरकार तथा अन्य स्थानीय सरकारसँग समन्वय गरिनेछ । तर, राहतमा के पर्छ भन्ने तय भइसकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026