लन्डन दूतावासबाट ३५ हजार एमआरपी

2 November, 2015

लन्डनस्थित नेपाली दूतावासले हालसम्म करिब ३५ हजार एमआरपी (मेसिन रिडेबल पासपोर्ट) जारी गरेको छ । दूतावासले एमआरपी लिइ नसकेका नेपाली राहदानी बाहकलाई जतिसक्दो छिटो एमआरपी लिन अपिल समेत गरेको छ । अबको करिव तीन साता अर्थात नोभेम्बर २४, २०१५ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियम छ ।

 

कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले समयसीमा थोरै भएको जनाउँदै लिन बाँकी  रहेकालाई बेलैमा आवेदन दिन आग्रह गरेका छन् । ‘अहिले त एक डेढ महिनामै एमआरपी बनेर आइरहेको छ,’ क्षेत्रीले भने, ‘छिटो लिइहाल्नुहोला । यदि होम अफिस (गृह मन्त्रालय) मा केस भएर पासपोर्ट साथमा छैन् भने पनि हामीले होम अफिसमा आवेदन दिएको प्रमाण र पासपोर्टको फोटोकपीले प्रक्रिया सहज गरिदिएका छौं ।’

 

दूतावासले कार्यालय समयमा बढ्दो चाप घटाउन नेपाली समुदायमाझ गएर आफैं एमआरपी फाराम संकलन गर्ने अभियान सुरु गरेको थियो । कार्यवहाक राजदूत क्षेत्रीका अनुसार आयरल्याण्ड, आइसल्याण्ड देखि बेलायतका स्कटल्याण्ड, वेल्स्, नर्दन आयरल्याण्ड, स्वीन्डन, लन्डन, आसफोर्ड, अक्सफोर्ड लगायत नेपाली उल्लेख्य बसोवास गर्ने करिव २५ मुख्य शहरमा गएर फाराम संकलन गरिएको थियो ।

 

दूतावासमा जनशक्ति अभावबीच थालिएको घर दैलो अभियान प्रभावकारी भएको यूकेस्थित नेपाली समुदायको निष्कर्ष छ । दूतावासको अभियानले विशेष गरि लेख पढ गर्न नजान्ने वृद्धवृद्धा, लन्डन बाहिर टाढा टाढा रहेकालाई यात्रा खर्चमा वचत र फाराम बिग्रने झन्झट नभएर उल्लेख्य फाइदा पुगेको नेपाली समाजका अगुवा सूर्य गुरुङले सुनाए । 

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024