रोजगारी दिन्छु भन्दै ठग्ने महुन्याल एजुकेसनले विद्यार्थीलाई पैसा फिर्ता गर्‍यो

15 June, 2022

मोहन विष्ट

रोजगारी दिन्छु भन्दै बेरोजगार युवा–युवतीलाई ठग्ने महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिले विद्यार्थीबाट लिएको पैसा फिर्ता गरेको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालि शाखा महेन्द्रनगरले रोजगारीका नाममा विद्यार्थीबाट संकलन गरेको लाखौँ रकम फिर्ता गरेको हो ।

गत वैशाखमा एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले विद्यार्थी ठग्ने उक्त संस्थाविरुद्धमा आन्दोलन गरेका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथ नेतृत्वमा प्रहरी र प्रशासनमा उजुरी दिएका थिए । ठगीविरुद्धमा विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको एक्सनपछि उक्त संस्थाले विद्यार्थीलाई रकम फिर्ता गरेको छ । अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथले ३२ जना विद्यार्थीबाट अनधिकृत रपमा असुलेको दुई लाख ५३ हजार पाँच सय रुपैयाँ फिर्ता गराएको बताए ।

‘कुनै विद्यार्थीको पाँच हजार, कुनैको १० हजार रकम रहेछ,’ उनले भने, ‘ठगिएका ३२ जनाको रकम फिर्ता गरेका छौँ ।’ ठगिएका विद्यार्थीको रकम फिर्ता गरेसँगै अहिले नै मुद्दामामलातर्फ विद्यार्थी स्वयं नगएकाले पहिलोपटकका लागि संस्थालाई माफी दिएको बताए । अनेरास्ववियुका विद्यार्थी नेता नाथ र युवा संघका जिल्ला उपाध्यक्ष दिनेश विष्टसहितले रकम फिर्ता गराएका थिए ।

चर्को शुल्क असुलेर तोकिएको समयभन्दा कम अवधि तालिम दिने र विभिन्न रोजगार सीपमूलक तालिमका लागि ग्राहक खोज्नका लागि गाउँगाउँमा पठाएर काम गर्न नसकेको भन्दै पैसा नदिएर श्रम शोषणसमेत गरिरहेको ठगिएकाले बताएका थिए । विद्यार्थी संघ–संगठन र नेताहरूको प्रयासबाट ठगिएको पैसा फिर्ता भएको बेरोजगार युवायुवतीले बताएका छन् । रोजगारी दिन्छु भन्दै ठगिएकी भीमदत्त नगरपालिका– १० तिल्केनीकी प्रेरणा बमले विद्यार्थी संघ–संगठनको प्रयासबाट न्याय पाएको बताइन् ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले बेरोजगार विद्यार्थीबाट रोजगारीको प्रलोभनमा ठगी गर्ने संस्थाविरुद्ध क्रान्तिकारीसहितका विद्यार्थी संगठन अग्रसर हुँदा ठगिएका विद्यार्थीलाई रकम फिर्ता भएको बताए । ‘यदि विद्यार्थीलाई पैसा फिर्ता नगरेको भए हामीले थप आन्दोलन गर्थ्यौँ, ‘उनले भने, ‘ठगेको पैसा फिर्ता भयो, फेरि पनि यस्तै ठगी धन्दा गरे थप कानुनी प्रक्रियामा जान्छौँ ।’

महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिले कसैलाई नठगेको दाबी गरे पनि अन्ततः पैसा फिर्ता गरेसँगै ठगेको प्रमाणित भएको छ । रोजगारीका नाममा ठगी धन्दा चलाउने केही गैरसरकारी संस्था च्याउजस्तै खुलेकाले त्यस्तामाथि कारबाही गर्नुपर्ने स्थानीयले बताएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024