रोजगारीमा विदेश जाने नेपालीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी

18 June, 2025

२असार, काठमाडौं । अब रोजगारीमा विदेश जाने नेपालीहरूलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने तयारी सरकारले थालेको छ।

हालसम्म देशभित्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य बीमा अब वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि पनि अनिवार्य गर्न लागिएको हो ।

स्वास्थ्य बीमा ऐन २०७४को दफा ३ काे ४ मा प्रचलित कानुन बमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्छ भन्ने उल्लेख भएसँगै स्वास्थ्य मन्त्रालयले उक्त ऐनलाई कार्यान्वयन गर्न परिपत्र गरेको छ।

मन्त्रालयले जेठ २६ गते स्वास्थ सचिव स्तरीय निर्णय गर्दै ऐन कार्यान्वयन गर्न स्थानिय सरकार, मातहतका निकाय र कर्मचारीलाई सहजिकरण गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले यस व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा स्वास्थ्य बीमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिलाले पत्राचार गरेको हो ।

यसअघि मन्त्रालयले सबै संघीय मन्त्रालय तथा निकायहरुमा समेत यस्तै व्यवस्थाका लागि सघाउन पत्राचार गरेको थियो ।

यसले ऐनमा व्यवस्था भएर पनि हालसम्म लागु हुन नसकेको प्रावधान लागु हुने दिशामा अघि बढेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले बाँकी क्षेत्रमा समेत आबद्धताका लागि मन्त्रालयले निरन्तर पहल गर्ने बताए ।

यो व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई बीमा अनिवार्य आबद्ध गर्दा परिवारको स्वास्थ्य सेवामा पहुँच सजिलो हुने सरकारको दाबी छ ।

यससँगै विदेशबाट फर्किएका नागरिकले नेपाल फर्केपछि बीमाका सुविधा निरन्तर प्राप्त गर्न सक्नेछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024