रोजगारदाताले अब ‘श्रम संसार रोजगार पोर्टल’मा अनिवार्य रूपमा विज्ञापन राख्नुपर्ने

5 August, 2025

२० साउन, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम इजाजत सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि रोजगारदाताहरूले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्दा सोही विज्ञापनलाई मन्त्रालयको ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मा पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ ।

विभागले एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ को दफा २२ को उपदफा (३) तथा श्रम नियमावली, २०७५ को नियम ७ बमोजिम यो नयाँ व्यवस्था गरिएको जानकारी दिएको हो । यो व्यवस्था नेपाल सरकारको ‘नागरिक एप’ सँग समेत आबद्ध गरिएको छ ।

विभागका निर्देशक मणिनाथ गोपका अनुसार रोजगारदाताले आफूलाई आवश्यक परेको दक्ष श्रमिकका लागि पहिले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्नेछ ।

यदि त्यसरी विज्ञापन गर्दापनि तोकिएबमोजिम नेपाली नागरिकबाट दरखास्त नआएमा वा योग्य उम्मेदवार छनोट हुन नसकेमा, त्यसको प्रमाणसहित मात्रै विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभागसमक्ष निवेदन दिन सकिनेछ ।

नेपाली नागरिकलाई रोजगारीमा प्राथमिकता दिने उद्देश्यले यो कदम चालिएको हो । साथै, श्रम नियमावली, २०७५ को नियम ७ को उपनियम (३) बमोजिमको विज्ञापनलाई मन्त्रालयको रोजगार पोर्टलमा समेत राख्नुपर्ने व्यवस्था गरिएकाले अब सबै रोजगारदाताले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024