रेमिट्यान्सको रकमबाट खेती गर्ने जमिन

14 August, 2012

वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सको अधिकांश रकम घर बनाउन र दैनिक आवश्यकता धान्न प्रयोग भइरहेका बेला धनुषामा भने नयाँ क्रम देखिएको छ । राष्ट्र बैंकको जनकपुर कार्यालयले गरेको एक अध्ययनले विदेशबाट आउने रकमबाट जिल्लामा घर बनाउनका लागि भन्दा कृषिका लागि जग्गा खरिद गर्ने धेरै देखिएका छन्् ।

अध्ययनमा रेमिट्यान्सबाट आएको रकमले कृषिका लागि जमिन खरिद गर्ने व्यक्तिको संख्या ५६ प्रतिशत रहेको देखिन्छ । ‘अन्य क्षेत्रको भन्दा जनकपुरमा यो फरक तथ्यांक देखियो,’ राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठले भने । वैदेशिक रोजगारीमा गएका परिवारमध्ये २८ प्रतिशतले पछिल्लो ३ वर्षमा जग्गा खरिद गरेका छन् । विदेश नजानेका परिवारमा जग्गा किन्नेको संख्या १३ प्रतिशत मात्र छ ।

 

वैदेशिक रोजगारीमा जाने परिवारको आय अन्यको तुलनामा कम हुने र रेमिट्यान्सबाट आएको अधिकांश रकम दैनिक आवश्यकता धान्न र अनुत्पादनक क्षेत्रमा प्रयोग हुने गरेको तथ्यांक विभिन्न अध्ययनले यसअघि सार्वजनिक गरेका थिए । तर राष्ट्र बैंकको यो अध्ययनले भने कृषिका लागि रेमिट्यान्सको रकम प्रयोग हुन थालेको पहिलो पटक देखाएको छ ।

 

अध्ययनले धनुषा जिल्लामा रेमिट्यान्सबाट आएको रकमको सबैभन्दा धेरै भाग -३१ प्रतिशत) खाद्यान्नमा खर्च हुने देखाएको छ । ‘मुलुकभरको तथ्यांक हेर्दा रेमिट्यान्सबाट आएको रकम खानपिन, शिक्षा र स्वास्थ्यमा खर्च भएको पाइन्छ,’ श्रेष्ठले भने ।

 

जिल्लामा विदेश जाने अधिकांशले चर्को ब्याजमा ऋण लिएको अध्ययनमा उल्लेख छ । ‘अध्ययनले कामका लागि विदेश पठाउने समुदायमा ब्याजदर ४० प्रतिशतसम्म रहेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘जुन औपचारिक वित्तीय संस्थाहरूले लिने भन्दा ज्यादै धेरै हो ।’ बैंक वित्तीय संस्थाको न्यून उपस्थितिका कारण अनौपचारिक क्षेत्रबाट ऋण लिने काम भइरहेको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानेलाई सहुलियत ब्याजदरमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट ऋण उपलब्ध हुने व्यवस्था मिलाइए पनि समुदायमा जानकारी नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

विदेशमा गएकामध्ये ३२ प्रतिशत परिवारको बैंक खाता रहेको अध्ययनमा छ । जुन कोही पनि विदेश नगएका परिवारको २९ प्रतिशत मात्र छ । वैदेशिक रोजगारीमा जाने अधिकांश पुरुष भएकाले त्यस्ता परिवारको घरायसी कारोबारमा महिलाको निर्णय बढेको छ । विदेश गएकाको परिवारमा ७ प्रतिशत घरायसी आर्थिक निर्णय महिलाले लिने गरेका छन् । महिला र पुरुष मिलेर ५३ प्रतिशत निर्णय हुने गरेका छन् । जब कि अन्य परिवारमा यो ५ प्रतिशत छ । यस्ता परिवारमा ५१ प्रतिशत निर्णय महिला र पुरुष दुवै मिलेर हुन्छ ।

 

विदेशबाट अधिकांश व्यक्तिले बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने गरेका छन् । ‘८४ प्रतिशतले बैंक वित्तीय संस्था लगायत औपचारिक बाटोबाट, १४ प्रतिशतले हुन्डीबाट र ४ प्रतिशतले साथीलाई प्रयोग गरेर रेमिट्यान्स पठाउने गरेको देखिएको छ,’ अध्ययनमा भनिएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024