यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण

6 June, 2025

होम कार्की

काठमाडौँ — नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । अब सरकारले योभन्दा कममा श्रमिक माग गर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्ने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने श्रमिकको न्यूनतम तलब निर्धारण गर्ने बिहीबार निर्णय गरेका हुन् । ‘यूएई नेपाली श्रमिकको आकर्षकको गन्तव्य हो । तर, यूएईमा कार्यरत नेपाली श्रमिकको न्यूनतम तलब निकै कम ८ सय दिराम थियो,’ उनले कान्तिपुरसँग भने,‘हामीले यूएईमा रहेको नेपाली दूतावासको सिफारिसमा नयाँ तलब निर्धारण गरेका छौं ।’

मन्त्री भण्डारीले अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको अलग-अलग तलब निर्धारण गरेको बताए । जसअनुसार अदक्षको एक हजार दिराम, अर्धदक्षको १२ सय दिराम र दक्षको १५ सय दिराम निर्धारण गरिएको छ । ‘न्यून तलबमा काम गर्ने श्रमिकलाई ठूलो राहत हुन्छ । यो सम्बन्धित दूतावासमा पठाउछौं,’ उनले भने,‘यूएईले आफैंले न्यूनतम तलब तोकेको छैन । नेपाल सरकारले बजारको अवस्था हेरेर तलब निर्धारण गरेको हो । दूतावासले योभन्दा तल मागपत्र प्रमाणीकरण गर्दैन । यो तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन् ।’ यूएईमा हाल ७ लाख नेपाली कार्यरत छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024