यूएईमा मृत्यु भएका गणेशको परिवारलाई साढे एक लाख सहयोग

15 Jul, 2018

गत असार १ गते यूएईमा मृत्यु भएका तनहुँका गणेश लामिछानेको परिवारलाई यूएईमा कार्यरत नेपालीले १ लाख ४६ हजार ८ सय १६ रुपैयाँ सहयोग गरेका छन् । सन् २०१४ मा युएईमा रोजगारीको सिलसिलामा आएका टेकमार्ट जेबल अली कम्पनीमा कार्यरत तनहुँ, बन्दिपुर ५, थुम्का भन्ज्याङ्गका लामिछाने सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।

 

घरमा एकजना दाजु सुस्त मनिस्थितिका र एकजना १४ वर्षको नाबालक भाइ र दुई  दिदीबहिनी बिबाह गरी गएको र घरको जिम्मेवारी सम्हालेका गणेश अविवाहित थिए । परिवारको भरणपोषण गर्ने मुख्य व्याक्तिकै मृत्यु भए पश्चात अत्यन्तै आर्थिक तथा मानसिक पीडामा बाच्न बाध्य परिवारलाई राहत उपलब्ध गराउन तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अग्रसरता उक्त रकम संकलन गरिएको अभियानका संयोजक हिरालाल श्रेष्ठले जानकारी दिएका छन् ।

 

रातको समयमा गाडीले ठक्कर दिएर लामिछानेको निधन भएपछि सामाजिक संजालमार्फत उक्त जानकारी तनहुँवासीसम्म आउना साथ लासलाई नेपाल पठाउन र आर्थिक सहयोग संकलन अभियान चलाइएको प्रस्तावित तनहुँ सेवा समाजका संयोजक दिपक खडकाले बताए । उक्त संकलित रकम एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको उपस्थितिमा मृतक गणेश लामिछानेका दाजु कृष्ण लामिछाने (काकाको छोरा)लाई तनहुँवासीले युएईमा हस्तान्तरण गरेका हुन् ।

 

विपत्तिमा परेको लामिछाने परिवारलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई गठनको संघारमा रहेको तनहुँ सेवा समाजले हार्दिक धन्यवाद प्रकट गरेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024