‘युवा बिदेसिए भनेर भाषण मात्र भयो, रोक्ने सार्थक पहल देखिएन’

13 August, 2025

विनोद सुवेदी

देशबाट युवा पलायनको दर बढिरहेका बेला उद्यमी तथा व्यावसायिक व्यक्तित्वहरूले युवालाई स्वदेशमै रोक्न हल्लाभन्दा सार्थक पहल र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले युवाहरूलाई निराश नभई चुनौतीभित्र अवसर खोज्न र उद्यमशीलतामा लाग्न आग्रह गरे।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युवा उद्यमी मञ्च, सुनसरीले मंगलबार विराटनगरको विराटचोकमा आयोजना गरेको ‘युथ टक सेरिज’ मा वक्ताहरूले युवाशक्तिलाई देशमै टिकाउन राज्य र समाज दुवै गम्भीर हुनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल रिपब्लिक मिडिया लिमिटेडकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले ‘युवा विदेशिए’ भनेर चिन्ता मात्र गर्ने तर उनीहरूलाई रोक्न कुनै ठोस प्रयास नगरिएको यथार्थ औंल्याइन्।

‘युवाहरू विदेश पलायन भए भनेर भाषणमा खुब सुनिन्छ, तर उनीहरूलाई देशमै रोक्न आवश्यक रोजगारीका अवसर र सार्थक प्रयास भएको देखिँदैन,’ उनले भनिन्, ‘संकटमा पनि धैर्य र नयाँ सोचले काम गरे सफलता सम्भव छ।’

कोरोनाकालमा विज्ञापन र आम्दानी शून्य हुँदा पनि मिडिया सञ्चालनमा देखिएको चुनौतीको स्मरण गर्दै उनले हरेक काममा आउने कठिनाइको सामना गर्न मानसिक रूपमा तयार रहनुपर्ने बताइन्।

कार्यक्रमका अर्का वक्ता, उद्यमी सञ्जोग कोइरालाले आफ्नो प्रेरणादायी अनुभव सुनाउँदै कामलाई सानो-ठूलो नठान्न आग्रह गरे।

चार्टर्ड एकाउन्टेन्टको पढाइ सकेर चिया पसल खोल्छु भन्दा परिवारबाटै आलोचना खेपेको स्मरण गर्दै उनले भने, ‘त्यही चिया पसल ‘चिया अड्डा’ आज मेरो पहिचान बनेको छ। त्यसैले सुन्नुस् सबैको, तर गर्नुस् आफ्नो।’

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले संघर्षबिनाको सफलता ‘चिट्ठा’ परे मात्र सम्भव हुने भन्दै युवाहरूलाई मिहिनेत गर्न सुझाए। ‘सोचेर मात्र हुँदैन, काम सुरु गरिहाल्नुपर्छ,’ उनले भने।

यसैगरी, पर्यटन व्यवसायी डा. दिनेश प्रसाईले राजनीतिक नेतृत्व परिवर्तनमा समेत युवाहरूले चासो देखाउनुपर्ने बताए। उनले ३० वर्षदेखि उही अनुहारले देशको नेतृत्व गर्दा परिवर्तन सम्भव नभएको तर्क गरे।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरे र सुनसरी अध्यक्ष राजीव घिमिरेले युवाहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, युवा उद्यमी तथा शिक्षकहरूको सहभागिता थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024