युवा बिदेसिँदा कामदार अभाव

26 July, 2019

बिना थापा 

अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन् । यहाँ हुनेले पनि काम नगर्दा पोखरामा घर निर्माणका लागि मजदुरको अभाव भएको छ ।

‘पहिले भनेका बेलामा जति पनि कामदार पाइन्थे, अहिले पाउनै मुस्किल छ,’ निर्माण व्यवसायी ओमप्रसाद रिजालले भने, ‘काम गर्ने उमेरका अधिकांश युवा विदेशमा छन् । यहाँ भएकाले काम गर्नै लाज मान्छन् । अन्य जिल्लाबाट पनि फाटफुट मात्र मजदुर आएका छन् ।’

कतिपय व्यवसायीले काममा लगाएर ज्याला नदिने, दिइहाले पनि थोरै मात्र दिनेलगायत समस्याले पनि भनेजति कामदार पाउन मुस्किल छ । ‘दिनभरि काम गर्‍यो, साँझ ६ सय रुपैयाँ ज्याला पाइन्छ,’ एक मजदुरले दुखेसो सुनाए, ‘त्यतिले घरखर्च, कोठाभाडा, छोराछोरीको पढाइ खर्च पुग्दैन । यस्ता कारणले पनि समयमै मजदुर पाउन गाह्रो भएको हो ।’

सरकारी दररेटअनुरूप पारिश्रमिक नपाएको गुनासो मजदुरहरूको छ । ‘पोखरामा रुकुम, रोल्पा, दाङलगायत जिल्लाबाट आएका मजदुरले काम गर्ने हो । ज्याला थोरै भएका कारण उनीहरू पनि विदेशतिरै जान्छन्, कसरी कामदार पाउनु ?’ अर्का ठेकेदार तारानाथ पाठकले भने, ‘सरकारले उनीहरूका लागि सुरक्षा व्यवस्थापन र समान ज्यालालगायतको व्यवस्था गरेमा समस्या समाधान हुन्छ ।’नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले आव ०७५/७६ मा २० हजार मजदुर खपत भएको बताए । तिनमा दक्ष मजदुर ५ प्रतिशत मात्र थिए । घर, भवन, पुललगायतमा काम गर्ने मजदुर रुकुम, रोल्पा, म्याग्दीलगायत बाहिरी जिल्लाका छन् । सडक निर्माणमा, कुलो खन्ने, पेन्टिङलगायत काममा भने भारतीय मजदुर संलग्न हुने गरेका छन् ।

श्रेष्ठका अनुसार स्वदेशी दक्ष मजदुरको अभावले ३० प्रतिशत विदेशी मजदुरलाई काम लगाउनुपर्ने बाध्यता छ । दक्ष कामदार विदेश पलायन भएकाले आवश्यक कामदार नपाएको उनले बताए । ‘सरकारले युवालाई विदेश पलायन हुन रोक लगाएर मजदुरलाई प्राथमिकतासाथ तालिम दिए विदेशको कमाइ यहीँ हुन्छ,’ श्रेष्ठले भने, ‘तालिमले उनीहरूलाई घरपरिवारसँगै बसेर काम गर्नुका साथै विकास निर्माणले पनि गति लिन्थ्यो ।’

कुनै बेला ३२ वर्षीया शर्मिला रोका मगर दैनिक ज्यालादारीमा काम गर्थिन् । अहिले भने निर्माण व्यवसायी बन्न सफल भएकी छन् । उनको अनुभवमा सबैलाई छोटो समयमा धेरै कमाउनुपर्छ भन्ने सोच छ । त्यसैले स्वदेशमा काम गर्नुको साटो युवापुस्ता बिदेसिएका हुन् । पोखरामा बाहिरी जिल्लाबाट आएका निम्न वर्गीय परिवार र अदक्ष कामदारले मजदुरी गर्छन् । उनीहरू जता धेरै पैसा दियो काम गर्न त्यतै जान्छन् । रोकामगर काममा एकरूपता र स्थिरता नभएको त्यसैलाई ठान्छिन् ।

रामेछाप माइती र हेटौंडा घर भएकी रोका मगरले १२५ रुपैयाँमा दैनिक काम गरेको सम्झिन्छिन् । मिहिनेतकै परिणाम अहिले आफू मजदुरबाट व्यवसायी बन्न सफल भएको उनले बताइन् । ‘सुरुमा महिला ठेकदार भएकाले न काम पाइयो न कामदार,’ उनले भनिन्, ‘पछि सबैले मेरो काम हेर्दै गए । कामदारलाई विश्वासले जित्दै गएपछि सहज भएको छ ।’

उनले अहिले मासिक ७० हजार रुपैयाँ कमाइ गर्छिन् । रोका मगरले अहिले पाँचवटा घर निर्माणको ठेक्का लिएकी छन् । श्रीमान् ज्ञानबहादुर राई भने पेन्टिङको काम गर्छन् । उनीहरूको परिवार सुखसँग दिन बिताइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024