युक्रेनको नियन्त्रणमा रहेका सिद्धार्थको परिवारलाई पत्र : म छिट्टै फर्किनेछु

2 July, 2024

१७ असार, काठमाडौं । युक्रेनको नियन्त्रणमा रहेका मण्डन देउपुर नगरपालिका–६, काभ्रेका सिद्धार्थ ढकालको सन्देश रेडक्रसमार्फत परिवारसम्म आइपुगेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को पहलमा युक्रेनको नियन्त्रणमा रहेका ढकालको सन्देश सहितको पत्र किभस्थित रेडक्रस सोसाइटीका अधिकारीहरूले नेपाल रेडक्रस सोसाइटीलाई पठाएका हुन् ।

ढकालको पारिवारिक स्रोतबाट अनलाइनखबरलाई प्राप्त पत्रमा आफू ठिक भएको भन्दै चाँडै आउने उल्लेख गरिएको छ । ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन’, उनले भनेका छन्, ‘म चाँडै आउँछु, हुनसक्छ युद्ध रोकिएपछि अथवा अर्को विकल्प नेपाल सरकारको सहयोग भयो भने म अझै चाँडै आउन सक्छु ।’

तेस्रो विकल्प रुसी सरकारले पनि पहल गर्‍यो भने आफू छुट्न सक्ने उनले भनेका छन् । ‘चिन्ता गर्नुस्, सबै कुरा ठिक छ । आशा राख्नुस्, म यथाशिघ्र फर्किन सकुँ,’ पत्रमा भनिएको छ । सिद्धार्थले ९ अप्रिल २०२४ (२७ चैत २०८०) मा यो पत्रमा हस्ताक्षर गरेका छन् ।

कक्षा १२ सकेर उच्च शिक्षा अध्ययन गर्न भन्दै रुस गएका सिद्धार्थ २५ भदौ २०८० मा नेपालबाट मस्को उडेका थिए । त्यहाँ बिचौलियाले ठगेपछि उनी रुसी सेनामा भर्ना हुन बाध्य भएका थिए ।

१३ मंसिर २०८० मा उनले बुबा बिरुलाई अडियो म्यासेज पठाएर आफू युद्धको फ्रन्टलाइनमा जान लागेको र ८/१० दिन कुरा नहुन पनि सक्ने बताएका थिए ।

त्यसयता सम्पर्कविहीन भएका छोराको एकाएक बन्धक बनाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘अहिले छोरा बाँचेकै रहेछ भनेर खुशी लाग्यो । तर, कहिले आउँछ भन्ने चिन्ता उस्तै छ,’ आमा गंगा ढकालले भनिन्, ‘हरेक दिन छोरा आउला कि भनेर बाटो हेरेर बित्छ ।’

सरकारले उद्दारका लागि पर्याप्त पहल नगरेको उनको गुनासो छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाईंले आईसीआरसीमार्फत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आएको पत्र घरमा लगेर दिएको बताए । ‘यही माध्यमबाट परिवारको सन्देश पनि उनीसमक्ष पठाउने गरी विवरण पठाएका छौं,’ उनले भने ।

नेपाल रेडक्रस सोसाइटीको विपद् तथा संकट व्यवस्थापन विभागका प्रमुख सागर श्रेष्ठका अनुसार, नेपालबाट ५ जनाले आफ्नो परिवारको सदस्य कुन अवस्थामा छन् भन्ने पत्ता लगाइदिन भनेर ‘ट्रेसिङ रिक्वेस्ट’ पठाएका थिए ।

‘त्यसरी आएका निवेदनमध्ये चार जनाको परिवारसँग सम्पर्क गराएका छौं, एक जनाको मृत्यु भएको खबर छ,’ उनले भने, ‘यसरी निवेदन दिनेहरूको नाम, ठेगाना भने मसँग छैन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024