युएईमा नेपाली मजदुर क्याम्पमा दूतावासको सचेतना कार्यक्रम

15 April, 2019

रुपेश अधिकारी

नेपाली दूतावास आबुधाबीले यहाँ कार्यरत नेपाली मजदुर क्याम्पमा सचेतना कार्यक्रम सुरु गरेको छ । कामदार सचेतनासम्बन्धी जानकारी, युएईमा रहँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया लगायतका बारेमा दुतावासको टोलीले कामदार कार्यरत स्थलमै पुगेर छलफल चलाइरहेको हो ।

नेपाली कामदारलाई आइपरेका समस्या बुझ्ने, समाधानको उपाय खोजीका साथै विभिन्न विषयमा जानकारी दिने अभिप्रायले जनतेचनामूलक अभियान चलाएको दूतावासले जनाएको छ । आइतबार आबुधाबीमा रहेको अल जाबर कोइन सेक्युरिटी कम्पनीको क्याम्पमा दुतावासले कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेपालीका बीच दुतावासको टोलीले कामदारका समस्या, तथा कामदारले यहाँ बस्दा ध्यानदिनुपर्ने बिषय, कमाएको पैसाको उचित प्रयोग, सुरक्षित बचत र घरमा पैसा पठाउँदा वैधानिक बाटोको प्रयोग बारे जानकारी गराएको छ ।

 

दुतावासले दिदै आएको सेवा सुविधा, कामदारको हितमा भइरहेका प्रयास, नेपाली कामदारको अवस्था र सुरक्षा लगायतका बारेमा जानकारी गराएको दूतावासका श्रमसहचारी मोतीराम भुसालले बताए । विभिन्न मजदुर क्याम्पमा भइरहेको सचेतना कार्यक्रममा दुतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँल, श्रमकाउन्सुलर भेषबहादुर कार्की ,श्रमसहचारी मोतिराम भुषाल, तृतीय सचिव नारायण अधिकारी, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम लगायत सहभागी हुँदै आएका छन् ।

 

दुतावासले अघिल्लो साता धेरै संख्यामा नेपाली कामदार रहेको आबुधाबीको इमदाद गल्फ क्याटरिङ सर्भिसेस र इमिरेट्स क्याटरिङ सर्भिसेस कम्पनीको क्याम्पमा कार्यक्रम गरेको थियो । इमिरेट्स क्याटरिङ सर्भिसेसमा भएको कार्यक्रममा कामदारको अवस्था बुझ्न नेपालबाट आएको सरकारी प्रतिनिधि मण्डल तथा राजदुत कृष्णप्रसाद ढकालले समेत सहभागिता जनाएका थिए ।

 

सेवासुविधा बढाउन पहल गरिदिन दूतावासलाई आग्रह

 

कार्यक्रममा सहभागी कतिपय कामदारले सेवा सुविधाका बारेमा दुतावासका टोलीसँग गुनासो राखेका छन् । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारले पाउने सेवा सुविधा न्युन रहेको जनाउँदै उनीहरुले सेवा सुविधा र तलव स्केल बढाउनका लागि रोजगारदाता कम्पनीसँग दुतावासले पहल गरिदिन आग्रह गरेका हुन् । गतवर्ष पनि बार्षिक कार्यक्रम अन्तरगत दुतावासले मजदुर क्याम्पमा यस्तै कार्यक्रम गरेको थियो। उक्त कार्यक्रम प्रभावकारी भएपछि यसवर्ष पनि वार्षिक कार्यक्रम अन्तरगत जनचेतना मुलक कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024