युएईबाट एकै दिन दुई नेपालीको शव फर्कियो, अर्का एकको पनि मृत्यु

30 March, 2018

उमाकान्त पाण्डे

युएईबाट बिहीबार दुई जनाको शव नेपाल पठाईएको छ । पाल्पाको बगनासकाली ३ का भिमसेन दमाई र नवलपरासीको कावासोतीका रामबहादुर खत्रीको शव नेपाल पठाइएको पाल्पाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । 

भिमसेनले दुई महिना पहिले नेपाल फर्किन विमानस्थल पुगेर बोर्डिङ पास समेत लिनुभएको थियो । विमानस्थलबाट क्याम्प फर्किएर उहाँले  आत्महत्या गर्नुभएको हो । रामबहादुरको भने हृदयघातका कारण ज्यान गएको हो ।

 

११ वर्षदेखि युएईको शारजाहको लुलु सुपरमार्केटमा कार्यरत रामबहादुरको अघिल्लो बुधबार सुतेकै ठाउँमा मृत्यु भएको थियो । उहाँको हृदयघातका कारण ज्यान गएको अस्पताल रिपोर्टमा उल्लेख छ ।    

 

युएई नफर्किने गरी भिसा रद्द गरेर नेपाल हिड्नुभएका भिमसेनका परिवार विमानस्थलमा कुरिरहेका थिए । ‘फोन पनि लागेन, कुरा पनि हुन पाएन, म त त्रिभुवन विमानस्थलमा कुरिरहेको थिएँ,’ भिमसेनका जेठान रमेश आरजु परियारले उज्यालोसँग भन्नुभयो । भिमसेनले आत्महत्या गरेको अर्कोदिन मात्रै परिवारले जानकारी पाएको थियो । 

 

बैधानिक कागजपत्र नहुँदा भिमसेको शव नेपाल पठाउन ढिलाई भएको हो । कम्पनीले भिसा रद्द गरेर हवाइ टिकटसहित बोर्डिङ पास पनि उपलब्ध गराएको र बाँकी कुनै बैधानिक कागज पत्र नभएकाले शव नेपाल पठाउन समस्या भएको पाल्पाली समाजका अध्यक्ष अर्यालले बताउनुभयो । कम्पनीमा अनुरोध र प्रशासनिक सहयोगपछि दूतावासको समन्वयमा शव नेपाल पठाईएको हो ।

 

यसैबिच, दुई नेपालीको शव बिहीबार पठाउने तयारी भईरहदा बुधबार दिउँसो भने अर्का एक नेपालीको आबुधाबीमा ज्यान गएको छ । अलमदर इन्जिनियरिङ कम्पनी आबुधाबीमा कार्यरत झापाको जयपुरका  निर्मल श्रेष्ठको काम गर्दागर्दै दुर्घटनामा परी ज्यान गएको हो । निर्मल १८ वर्षदेखि युएईमा काम गर्नुहुन्थ्यो ।

 

सिसिटिभी क्यामरा जडानको काम गर्ने निर्मलको क्यामरा जडान गर्ने क्रममा चिप्लिएर लड्दा टाउकोमा चोट लागेको र अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको हो । उहाँको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

 

पोष्टमार्टम रिर्पोट आएपछि कानूनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाउन दूतावासले सहयोग गर्ने दूतावासका दितीय सचिव कृष्ण अर्यालले बताउनुभयो ।  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024