म्यानपावर कम्पनीहरुले प्रकाशन गर्ने विज्ञापनहरुप्रति वैदेशिक रोजगार विभागले चासो दिन थालेको छ । म्यानपावर कम्पनीहरुले विभाग अन्तर्गतको काठमाडौं कार्यालय ताहाँचलबाट माग पत्रहरुमा पूर्व स्वीकृति लिएपछि कामदार छनौटका लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गर्नु पर्ने कानूनी प्रावधान छ ।
सो विज्ञापनमा रोजगारदाता कम्पनीको नाम, ठेगाना, कामदारका गर्नुपर्ने कामको पद, संख्या, काम गर्नुपर्ने समय, अवधि, सेवा शुल्क, मेडिकल आदिबारे जानकारी गराइएको हुन्छ भने वैदेशिक रोजगार विभागबाट गराइएको जानकारीका बुँदाहरु उल्लेख गरिएको हुन्छ । विभागले उक्त जानकारी स्पष्ट रुपमा पढ्न नसकिने गरी प्रकाशित गर्ने गरेको पाइएको भन्दै इजाजत प्राप्त संस्थाले निकालेका विज्ञापन तथा सूचनाहरु स्पष्ट पढ्न सक्ने हुनु पर्ने उल्लेख गरेको छ ।
विभागका महानिर्देशक भुवनप्रसाद आचार्यको अध्यक्षतामा गत बुधबार बसेको बैठकले यसबारे छलफल गर्दै अवउप्रान्त वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी सम्बन्धी व्यहोरा स्पष्ट पढ्न सकिने गरी प्रकाशन गर्नुपर्ने निर्णय गरेको छ । उक्त जानकारीमा कामदारले ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरु समावेश गरिएका हुन्छन् ।
स्मरणीय छ, करिब ५ वर्ष अगाडी विभागका तत्कालिन महानिर्देशक पूर्णचन्द्र भट्टराईले यस्ता विज्ञापनहरु कामदारसँग प्रत्यक्ष सरोकार राख्ने भन्दै गलत ढंगले ऐन नियम विपरित प्रकाशित विज्ञापन गर्ने कम्पनीहरु माथि कारबाही गर्ने गरेका थिए ।