मेलम्ची परियोजनामा झडप

6 September, 2019

लक्ष्मण दर्नाल

मेलम्ची खानेपानी आयोजना निर्माणस्थल अम्बाथानमा स्थानीय मजदुर र प्रहरीबीच बिहीबार झडप हुँदा मजदुर सन्तोष चौधरी घाइते हुनुभएको छ । मेलम्ची अस्पतालले चौधरीलाई काठमाडौँ रिफर गरेपछि टिचिङ अस्पताल महाराजगञ्जमा उहाँको उपचार भइरहेको छ । चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मेलम्चीको सुरुङ निर्माण कम्पनी सीएमसीबाट पाउनुपर्ने बाँकी भुक्तानी नपाउँदासम्म आयोजनाको काम हुन नदिने भन्दै धर्नामा बसेका स्थानीय मजदुर, सहायक निर्माण कम्पनी तथा सप्लायर्सले बिहीबार सीएमसीले छोडेका निर्माण सामग्रीको कब्जा गर्न अम्बाथानस्थित निर्माणस्थल प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको थियो । धर्ना बसेकाले प्रहरीमाथि ढुङ्गामुडा प्रहार गर्न थालेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको सिन्धुपाल्चोकका नायब प्रहरी उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो ।

तर मेलम्ची आयोजना पीडित सङ्घर्ष समितिले भने प्रहरीको गोलीबाट दर्जनौ सङ्ख्यामा स्थानीय मजदुर घाइते भएको जनाएको छ । शान्तिपूर्ण धर्नामा प्रहरीले गोली चलाएको समितिको आरोप छ । सङ्घर्ष समितिका संयोजक विष्णुमणि आचार्यले भन्नुभयो

‘शान्तिपूर्ण धर्नामा प्रहरीले गोली चलायो, १२ जनाभन्दा बढी मजदुर घाइते हुनुभएको छ, घाइते सन्तोष चौधरीलाई यहाँको अस्पतालले काठमाडौँ रिफर गरेको छ ।’ स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सहरूको करिब डेढ अर्ब रुपियाँ भुक्तानी नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई आयोजनाको काम गर्न नदिने सङ्घर्ष समितिले जानएको छ । संयोजक आचार्यले भन्नुभयो ‘हामी आन्दोलन जारी राख्छौँ, घाइतेको उपचार हुनुपफ्यो, भुक्तानी नभएसम्म कुनै पनि काम हुन दिन्नौँ ।’

उनीहरूले आफूहरूले सीएमसीबाट पाउनुपर्ने रकम भुक्तानी नहुँदासम्म मेलम्ची आयोजनाको बाँकी काम गर्न नदिने भन्दै सरोकारवालहरूको ध्यानाकर्षण गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको रोहवरमा जिल्ला समन्वय समितिका सभापतिको नेतृत्वमा समस्या समाधानका लागि कार्यदल बनेको थियो । कार्यदलले असारमै सीएमसीबाट जफत गरिएका र उसका निर्माण सामग्रीबाट भए पनि मजदुरको बाँकी रकम उपलब्ध गराउन सिफारिस गरेको थियो । सोही कार्यदलको प्रतिवेदन अध्ययन गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले अर्को समिति गठन गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026