मासिक दुई लाख रुपियाँभन्दा बढी कमाइ

11 August, 2023

सिद्धार्थनगर, साउन २६ गते । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पाँच वर्ष बसेर फर्किएका एक युवाले रुपन्देहीमा लोभलाग्दो बङ्गुरपालन गरेका छन् । रुपन्देहीको तिलोत्तमा–१५ का रोहितसिंह आलेले यसअघि कम्प्युटर इन्जिनियर भए पनि कोरिया पुगेर सिकेको सिपलाई स्वदेश फर्केपछि उद्यममा उतार्नुभएको छ ।

कहिल्यै प्रत्यक्ष बङ्गुरसमेत नदेखेका आलेले कोरियाको कृषि क्षेत्र रोज्दा बङ्गुर फार्ममा काम गर्नु प-यो । काठमाडौँमा जन्मिएर हुर्किएका आलेले बङ्गुरपालनमा व्यावसायिक खेती गर्नु चानचुने कुरा पक्कै थिएन । फार्म सञ्चालनको छोटो समयमै आलेले मासिक दुई लाख रुपियाँभन्दा बढी कमाउन थाल्नुभएको छ । “कोरियामा मलाई अझै पाँच वर्ष काम गर्ने अवसर थियो,” आले भन्नुहुन्छ, “तर मलाई त्यहाँ आफूले काम गर्दा सबै सिकेँ, अब देशमै केही गर्छु भनेर यहाँ आई बङ्गुरपालनमा लागेँ, यहाँ सम्भावना धेरै छन् ।”

आलेले सञ्चालनमा ल्याएको तिलोत्तमा–१५, मधवलियास्थित विजया पिग फार्म छोटो समयमै उदाहरणीय बनेको छ । सुरुमा १६ वटा बङ्गुरबाट सुरुवात गरिएको फार्ममा अहिले १४० वटा बङ्गुर रहेका छन् । उहाँले चार कट्ठा क्षेत्रफलमा कोरियाली प्रविधिको आधुनिक खोर बनाउनुभएको छ । बच्चा, गर्भवती, सुत्केरी हुने र बिर (भाले बङ्गुर) राख्ने छुट्टाछुट्टै खोर छन् ।

चार लाख रुपियाँ लगानीमा संरचना निर्माण गरेर सुरु गरिएको फार्ममा अहिले ४० देखि ५० लाख रुपियाँसम्मको संरचना तयार रहेको छ । सिकेको सिपलाई पूर्ण रूपमा सदुपयोग गरेर स्वदेशमा नै उद्यमी बनाउन सकिने गरी अभियानको थालनी गरेको उहाँको भनाइ छ ।

बङ्गुर फार्म मात्रै होइन, अहिले बिक्रीवितरण गर्ने गरी उहाँले दुई स्थानमा फ्रेस हाउससमेत स्थापना गर्नुभएको छ । पछिल्लो समयमा बङ्गुरको उत्पादन बढी हुँदा बजार कमजोर भएको अवस्थामा पनि हार नमानेर उहाँले आफ्नो कर्मलाई निरन्तरता दिनुभएको छ । विगतमा दैनिक २० देखि २५ किलो बङ्गुरको मासु बिक्री हुँदै आएकामा अहिले १५ किलो बिक्री हुँदै आएको उहाँको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024