मालदिभ्समा काम गुमाएका नेपाली भन्छन् : सरकार आफ्नै खर्चमा आउन चाहन्छौं

9 June, 2020

पवन पौडेल

 

तनहुँ : व्यास नगरपालिका २ उत्तरशीला टोल दमौलीका सन्देश अधिकारी अहिले माल्दिभ्सको रंगाली आइल्याण्डमा छन् । त्यहाँको प्रतिष्ठित हिल्टन प्रपर्टीको कंग्रयाट्स माल्दिभ्स होटलमा कार्यरत उनको लक डाउनका कारण काम रोकिएको झण्डै तीन महिना भइसक्यो । 

कम्पनीले बस्न खान दिए पनि काम नभएपछि उनी घर फर्कन चाहन्छन् । ‘काम नभएर बसेको यत्रो समय भैसक्यो’, उनले भने,‘घर जाने दिन कुर्दा कुर्दा कहिले आउने हो टुंगो छैन ।’

उनी काम गर्ने होटलमा रहेका सात जना नेपाली पनि काम गुमाएर बसेका छन् । उनीहरु सबै देश फर्कने अनुमति कुर्दै दिन गन्दै बसिरहेका छन् । ‘सबैको अवस्था उस्तै हो,’ उनले भने,‘अरु मूलुकले आफैँ साधन पठाएर नागरिक लगिसके । हामी आफ्नै सुरमा आउँछौं भन्दा पनि अनुमति मिलेको छैन ।’

सरकारले नागरिकलाई आउन दिने भनेको सुनेपछि फरक फरक टापुमा रहेका नेपालीले नजिकैको श्रीलंकन दुतावासमा नाम सूचीसहितको निवेदन पठाए । यसरी घर फर्कन चाहनेको संख्या सात सय २४ पुगिसकेको दुतावासको सूची छ । तर निकै ढिलो गरी आएको जवाफमा घर फर्कन कहिले पाउने हो अत्तोपत्तो छैन । ‘अरु देशले आफैं लगे पनि हामीले सरकारसँग त्यस्तो माग गरेका छैनौं,’ अधिकारीसँगै घर फर्कन चाहेका उदयपुरका कोषराज खतिवडा भन्छन्,‘हामी काम गर्ने कम्पनीले आफ्नै खर्चमा पठाइदिन्छौं भन्दा पनि अनुमति पाएका छैनौं ।’

एक तथ्यांक अनुसार मालदिभ्सका फरक फरक टापुमा रहेका नेपालीको संख्या १० हजार बढी छ । तीमध्ये अधिकांश होटल तथा रिसोर्टमा काम गर्छन् । कडा लक डाउनका कारण त्यहाँका अधिकांश रिसोर्ट र होटल बन्द भए पनि काम गुमाएका हजार हाराहारीका नेपाली फर्कन चाहेको अधिकारीको दाबी छ । फर्कन चाहने धेरै भएपछि त्यहाँ रहेका पोखराका मेघनाथ भुसालको पहलमा विमान चार्टड गरेर पनि नेपाली आउने तयारी गरिरहेका छन् । यसको चाँजोपाँजो मिलाउन सक्रिय भुसालकै पहलमा ह्वाट्सएप ग्रुपमार्फत नेपाली सम्पर्कमा आएका हुन् । ‘हामीलाई फर्कन मात्र अनुमति दिए आफ्नो व्यवस्थापन आफैं गथ्यौं,’ उनले भने,‘तर श्रीलंकाको दुतावासले माथिबाट अनुमति नआएको भन्दै रोकिरहेको छ ।’

सन्देशका अनुसार भारतले पानीजहाजबाट नागरिक लगिरहेको छ । युरोपेली अधिकांश मूलुकले पनि नागरिक लगिसकेका छन् । श्रीलंकाले पनि नागरिक लाने तयारी गरिरहँदा नेपालले तदारुकता नदेखाउनुले समसया परेको उनी बताउँछन् । ‘हामी त राम्रो कम्पनीमा छौं । बस्न खान समस्या छैन,’ उनले भने,‘स्थानीयका लगानीका होटलमा काम गर्नेको समस्या झनै धेरै भएकाले घर फर्कन नदिंदा समस्या बढ्ने अवस्था छ ।’ उनका अनुसार केही ठूला लगानीका कम्पनीले आधा तलब दिए पनि स्थानीय होटलले पैसा दिन नसक्ने बताएका छन् । ‘कत्तिले समस्या परेको भनिरहनुभएको छ,’ उनले भने,‘सबैलाई नभए पनि समस्या परेकालाई घर जाने अनुमति चाहिएको छ ।’

त्यहाँका सरकारी संस्था पूर्ण बन्द भएकाले भिसा सकिन लागेकाहरुले नवीकरणमा पनि समस्या परेको छ । यस्तोमा सरकारले तत्काल अनुमति दिएमा तयारी गर्न सहज हुने नेपालीहरुको भनाइ छ । ‘धेरै टापु भएकाले आउनका लागि माले पुग्न पनि समय चाहिन्छ,’ सन्देश भन्छन्,‘अनुमति दिएर मिति तोकिदिए हामीलाई तयारी गर्न पनि सजिलो हुन्थ्यो ।’ उनले नेपाली दुतावासले चासो नदिएकाले सञ्चारमाध्यमबाट आवाज आए आफूहरु चाँडो घर फर्कन पाउने आशा जागेको बताए । ‘अन्तबाट फर्कन थालेको र फर्काउने तयारी भएको सुनियो,’ उनले भने,‘खै हामी त कसैको आँखामा नपरेकाले होला । तपाइँहरुले लेखेर सरकारसँग कुरा पुर्‍याइदिनुपर्‍यो ।’

माल्दिभ्सका नेपालीलाई फर्काउने तयारीबारे बुझ्न पटक पटक गरिएको फोन सम्पर्कमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालसँग सम्पर्क हुन सकेन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024