मानव बेचबिखनमा जनप्रतिनिधिको संलग्नता, वडाध्यक्ष पक्राउ

31 January, 2020

काठमाडौं – मानव बेचबिखनको आरोपमा जनप्रतिनिधिसहित तीन जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। दक्षिणकाली नगरपालिकाका–४ का वडाध्यक्ष पुस्कर खड्कासहित अन्य दुई जनालाई मानव बेचबिखनमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी प्रभाग सानेपा र जावलाखेल परिसरबाट खटिएको टोलीले गत माघ १० गते वडाध्यक्ष खड्कालाई पक्राउ गरेको थियो। त्यसपछि अन्य दुईजनालाई बुधबार पक्राउ गरिएको परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेहरूमा महानगरपालिका– १६ का वृजगोपाल श्रेष्ठ र भारतीय नागरिक हाल ललितपुर महानगरपालिका– २ बस्दै आएका नबल ठाकुर रहेका छन्।

उनीहरूले जागिरको प्रलोभनमा पारी खाडी मुलुक तथा भारतका कोठिहरूमा युवती बेचबिखन गर्दै आएको उजुरीका आधारमा पक्राउ गरिएको एसएसपी राईले बताए। यसबारे मानवबेचबिखन मुद्दामा थप अनुसन्धान गर्न ९ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। पक्राउ परेका तीनै जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा राखेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024