मानव ओसारपसारसम्बन्धी कानुन कडा बनाइँदै

21 July, 2025

काठमाडौँ, साउन ५ गते । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को संशोधन गरेर मानव बेचबिखन र ओसारपसारमा कडाइ गर्न लागिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सन् २०२२ मार्चमा ‘पालेर्मो प्रोटोकल’ मा सम्झौता गरेपछि ऐन संशोधन गरेर कडा बनाउन लागेको हो । महिला मन्त्रालयले विधेयक तयार गरेर प्रतिनिधि सभामा पठाएको संसदीय समितिमा दफावार छलफल भएपछि संसद् हुँदै कानुन बन्ने प्रक्रियामा जाने भएको हो ।

विधेयकको क्षेत्राधिकारको दायरा फराकिलो बनाएर मानव बेचबिखन तथा ओसारपसारलाई कडाइ गर्न खोजिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले जानकारी दिनुभयो । “ऐन निर्माण भएपछि नेपालबाहिर बसेर नेपाली नागरिकविरुद्ध कसुर गर्ने जुनसुकै व्यक्तिलाई समेत कारबाही हुने छ,” उहाँले भन्नुभयो, “यदि अभियुक्त फरार भएमा सम्पत्ति वा जग्गा रोक्का राख्न सक्ने व्यवस्था गरिने भएको छ ।”

अब बन्ने ऐनमा पालेर्मो प्रोटोकलमा भएका प्रावधानबमोजिम जबरजस्ती श्रम वा सेवामा लगाउने कार्यलाई कसुर कायम गरिने, ओसारपसारको परिभाषामा बालबालिकालाई असारपसार गर्ने, भर्ना गर्ने, आफ्नो नियन्त्रणमा लिने कार्यलाई ओसारपसारको कसुरका रूपमा कायम गरिने उहाँले बताउनुभयो । पीडितलाई दोभासेको कानुनी व्यवस्था गरिनुका साथै यदि विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकसम्म कूटनीतिक माध्यमबाट समन्वय गरी फिर्ता पठाउने व्यवस्था गरिने प्रस्तावित विधेयकमा उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024