महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा

1 August, 2025

हिक्मतबहादुर नेपाली

दैलेख : मानव बेचबिखनका घटना बर्सेनि बढ्दै गइरहेका छन् । बेचबिखनको उच्च जोखिममा महिला,बालबालिका तथा विपन्न समुदाय व्यक्तिहरू छन् । मानव बेचबिखन प्रभावितहरूको राष्ट्रिय महासंघले नेपालमा मानव बेचबिखन दीर्घकालीन र जटिल समस्या बनिरहेको जनाएको छ ।

‘नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आउने सकेको देखिदैन्,प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले बेचबिखन र ओसारपसार नियन्त्रणमा नयाँ चुनौतीहरू थपिएका छन्,’महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघका अध्यक्ष सञ्जमाया तामाङले मजदुरी,यौन शोषण,अंगको अवैध व्यापार र बालश्रमजस्ता क्रियाकलापहरूमा नेपाली नागरिकहरू देशभित्र र बाह्य मुलुकमा बेचिनुपरेको बताइन्। नेपाल प्रहरी र मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मानव बेचबखिन तथा तस्करीसम्बन्धी १३५ मुद्दा दर्ता भएको तामाङ बताउँछिन् ।

जसमध्ये यौन शोषण ५९, वैदेशिक रोजगारी २७, मानव ओसारपसार ४३ र अंग तस्करीसम्बन्धी ४ वटा मुद्दा परेको छ । ती घटनाको पीडितहरूमा ८५ जना महिला, ६८ बालिका, ७ पुरुष र १ जना बालक छन् । ‘संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न कानुन, नीति, रणनीति र कार्यक्रमहरू ल्याइएका छन्, यद्यपि, नीति निर्माण र व्यवहारिक कार्यान्वयनबीचको खाडल अझै गहिरो छ,’तामाङ भन्छिन् ।

मानव बेचबिखन विरुद्धको कानुन कार्यान्वयन गर्ने जिम्मेवार निकायहरूबीच समन्वयको कमी,अनुसन्धानको कमजोरी,पीडितमैत्री संरचनाको अभाव र दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले समस्या झन् गहिरिएको उनको भनाइ छ ।

महासंघले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०८१ लाई अविलम्ब पारित गर्न मागसमेत गरेको छ । विधेयक गत चैत्र ११ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । यस्तै सीमा नाकामा निगरानी प्रविधि र मानव स्रोतको प्रभावकारी परिचालन गर्नुपर्ने,बेचबिखन प्रभावित तथा पीडितको उद्धार,राहत र पुनःस्थापना लागि विशेष बजेट तथा कार्यक्रम ल्याउनुपर्ने महासंघको माग छ ।

प्रदेशस्तरीय कार्य योजना निर्माण र कार्यान्वयन,मानव बेचबिखनका जोखिमयुक्त क्षेत्रहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, शिक्षा, सीप विकास तथा रोजगारीका अवसर सिर्जनामा जोड दिन महासंघले आग्रह गरेको छ ।

यस्तै समुदायस्तरमा जोखिम पहिचान र प्रतिकार्य योजना विकास गर्नुपर्ने,विद्यालय,महिला समूह, युवा क्लब, किशोरकिशोरी सञ्जाल तथा बाल क्लबमार्फत सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न महांसंघले आह्वान गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024