महाभूकम्पपछि नेपालीलाई दिइएको ‘टीपीएस’ खारेज गर्ने तयारीमा ट्रम्प प्रशासन, ९००० नेपालीले अमेरिका छोड्नुपर्ने !

25 Apr, 2018

महाभूकम्प गएको तेस्रो वर्ष पुगेको दिन अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेका छन् ।

 

अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणका अनुसार ट्रम्प सरकारले २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि तत्कालिन बराक ओबामा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई दिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस)लाई खारेज गर्ने तयारी गरेको छ।

 

ट्रम्प सरकारले नेपालीलाई दिइएको टीपीएस खारेज गरे लगभग ९ हजार नेपालीले अमेरिका छोड्नु पर्ने हुन्छ। टीपीएस सुविधा लिने नेपालीहरुको संख्या पनि १५ हजार रहेपनि हाल मात्र ९ हजारजना अमेरिका भित्र रहेको देखिएको बताइएको छ। नेपाललाई दिइएको टीपीएस सुविधा खारेज भए त्यस्तो सुविधा लिएर बसेकाहरुले एक वर्ष भित्र अमेरिका छोड्नुपर्ने हुन्छ।

 

विभिन्न देशबाट वैध/अवैध तरिकाबाट अमेरिका पुगेका द्वन्द्वग्रस्त तथा प्राकृतिक प्रकोप लगायतका अन्य प्रकोपहरुबाट पीडित भएका नागरिकहरुलाई उक्त देश फिर्ता पठाउनबाट रोक्न अमेरिकी संसदले सन् १९९० मा उक्त प्रावधान बनाएको थियो। नेपालमा विनाशकारी भूकम्प गएपछि नेपालीहरुलाई पनि सो स्ट्याटस दिने घोषणा तत्कालिन सरकारले गरेको थियो।

 

आप्रवासीहरु माथि निकै निरंकुश बनिरहेको ट्रम्प सरकारको निर्देशनमा आन्तरिक सुरक्षा विभागले केही महिना यता साल्भाडोरका २ लाख जनाको, हाइटीका ५० हजार जनाको र निकारागुवा र सुडानका केहीको टीपीएस खारेज गरी देश फिर्ताको प्रक्रिया सुरु गरिसकेको छ।

 

यस्तै होन्डुरसलाई दिइएको टीपीएस सुविधा पनि फिर्ता लिने तयारी अन्तरिक सुरक्षा विभाग रहेको बताइएको छ। होन्डुरसका ५७ हजारजना सो सुविधा प्राप्त गरी अमेरिकामा बसोबास गरिरहेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024