मलेसियामा ४६ नेपाली पक्राउ

13 August, 2015

अर्जुन काफ्ले

 

मलेसियामा अवैधानिक रूपमा कार्यरत विभिन्न देशका नागरिकसहित ४६ जना नेपालीलाई अध्यागमन विभागले मंगलबार पक्राउ गरेको छ।

 

मलेसियामा रहेका अवैधानिक आप्रवासी कामदारलाई घर फर्कन मौका दिइरहेका बेला अध्यागमनले एक सय नौजना आप्रवासी कामदारलाई पक्राउ गरेको यहाँको सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ।

 

पक्राउ परेका आप्रवासी कामदारलाई मलेसिया अध्यगमनले हिरासतमा राखेको छ। मलेसियाका विभिन्न सहरबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्ने नेपालीको थप विवरण थाहा हुन सकेको छैन। पक्राउ पर्नेमा ४६ नेपाली, २० बंगलादेशी, २१ म्यानमारी, १० पाकिस्तानी, एक भारतीय र एक भियतनामी छन्।

 

मलेसिया सरकारले यहाँ अवैधानिक रूपमा कार्यरत विदेशी कामदारलाई घर फर्कन पटकपटक मौका दिँदै आएको छ।अवौधानिक नेपाली पक्राउ परे तीन महिना जेल सजाय र थप समय क्याम्पमा बस्नुपर्ने व्यवस्था छ। 

 

मलेसियाको क्याम्पमा रहेका नेपाली टिकट लिएर घर फर्किन सक्नेछन्। नेपाली दूतावासका अनुसार क्याम्पमा रहेका नेपालीलाई दाताको सहयोगमा दूतावासले निःशुल्क टिकट दिँदै आएको छ।

 

मलेसिया सरकारले दुई वर्षअघिदेखि अवैधानिक आप्रवासी कामदार घर फर्क भन्ने अभियान चलाएको छ। दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएपछि यहाँको अध्यागमनमा जरिबाना तिरेर अवैधानिक अप्रावासी कामदार देश फर्किन सक्ने यहाँको अध्यागमनले जनाएको छ। 

 

नेपालबाट राम्रो कमाइ र काम हुने भन्दै मलेसिया आएका नेपाली काम र दाम नपाएपछि अवैधानिक हुने गरेका छन्।

  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024