‘मलेसियामा फसेका नेपालीसँग खाने पैसा छैन, ४५ हजार हालेर कसरी टिकट किन्छन’

14 June, 2020

सरकारले मलेसियामा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि असार १ गतेदेखि चारवटा उडान सुरु गर्देछ।  त्यसका लागि स्वदेश फर्कन चाहने नेपालीले ४५ हजार १ सय रुपैया बुझाएर टिकट किन्नु पर्नेछ।

कोभिड १९ परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई मात्र नेपाल पठाउन सकिने क्वालालाम्पुरस्थित नेपाली दूतावासले सूचना निकालेको छ।  मलेसियामा अहिले ५ हजारदेखि ६ हजारजति नेपाली समस्यामा परेको, उनीहरुले रोजगार गुमाएको एनआरएन मलेसियाको अनुमान छ।

मलेसियामा रोजीरोटी गुमाएका कामदारहरु यत्रो ठूलो रकम तिरेर नेपाल आउन सक्ने अवस्थामा नरहेको भन्दै एनआरएन मलेसियाले उनीहरुलाई सरकारकै खर्चमा स्वदेश ल्याउन आग्रह गरेको छ।

एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईका अनुसार रोजगार गुमाएका नेपाली कामदार अहिले विभिन्न संघसंस्थाको शरणमा छन।

‘उनीहरु रकम हालेर कहाँ नेपाल आउन सक्छन, जो सँग खाने पैसा छैन,’ भट्टराईले भने, ‘त्यसैले हामीले सरकारले नै उनीहरुलाई स्वदेश ल्याउन आग्रह गरिरहेका छौं ।’

‘उनीहरुलाई नेपालबाट परिवारले रकम पठाउन सक्ने अवस्थामा पनि छैन, ऋण काटेर मलेसिया काम गर्न गएका कामदारले ऋण कसरी तिर्ने भनिरहेका छन, यस्तो अवस्थामा उनीहरुसँग रकम उठाएर सरकारले हामीले उद्धार गरेको भन्न मिल्छ,’ भट्टराईले सेतोपाटीसँग भने। 

एनआरएन मलेसियाले समस्यामा परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर नेपाल पठाउन सक्ने बताए।  वैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ को २ मा नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परि कामदारलाई तत्काल स्वदेश फर्काउनु पर्ने भएमा सरकारले कुटनितिक र श्रम सहचारीमार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउने छ। 

विदेशमा रहेका नेपालीहरुलाई आफ्नै खर्चमा सरकारले स्वदेश ल्याउन लागेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मानव अधिकारका लागि जनमन्च नामक संस्थाले अदालतमा हालेको रिट बारे सर्वोच्चमा असार १ गते सुनुवाइ हुदैँछ।

सरकारले आफैँ खर्च गरेर नेपालीहरु स्वदेश ल्याउनु पर्नेमा समस्यामा परेकाहरुसँग रकम उठाएर ल्याउनु गैरकानुनी भएको भन्दै मानव अधिकारका लागि जनमन्चले अदालतमा रिट हालेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024