मलेसियामा नेपाली झुन्डिएको अवस्थामा भेटिए, हत्या गरेको आफन्तको दावी

4 October, 2020

हरिकृष्ण गौतम

रोजगारको सिलसिलामा मलेसियामा रहेका एक नेपाली झुन्डिएको अवस्थामा भेटिएका छन्। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ देविस्थानका ४० बर्षिय आजिम प्रसाद फगामीको शव कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो। कोठाभित्र पंखामा पासो लगाएको अवस्थामा भेटिएका फगामी खुट्टाले भुई टेकेको अवस्थामा भेटिएकाले हत्या भएको आशंका गरिएको छ।

लामो समयसम्म मलेसियामा कार्यरत फगामीको कम्पनीकै मलेसियनसँग झगडा भएपछि ज्यान मार्ने धम्की आएको भन्दै आफन्तलाई समेत सामाजिक सञ्जालबाट म्यासेज पठाएकाले कम्पनीमा कार्यरत मलेसियनले गुण्डा बोलाएर हत्या गरेको हुनसक्ने मृतकका आफन्त एवम् मोना कतारका उपाध्यक्ष नगेन्द्र फगामीले बताए।

घटनास्थलको अवस्था हेर्दा हत्या गरिएको देखिएकाले नेपाली दुतावास, एनआरएनए मलेसिया, मोना आइइसी लगायत नेपाली संघसंस्थालाई निस्पक्ष छानविनका लागि समेत मृतकका आफन्तले माग गरेका छन्।

‘कम्पनीमै कार्यरत नेपालीले समेत बोल्न दिइएको छैन्,‘कोठामा पासो लगाउनु अगाडि हत्यारासँग निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको देखिन्छ’ कम्पनीमै कार्यरत एक नेपालीले भने। मलेसियनले आफ्नो भनेजस्तो नभए भाडामा गुण्डा मगाएर समेत कुटपिट गर्ने गरेको नेपालीको गुनासो छ।

मृतक आजिम फगामीले कम्पनीबाट कामा छोडेर बाहिर बस्नुपर्ने अवस्था आएकाले आफ्नो जेठान होम सिउथानीलाई समेत आर्थिक सहयोग मागेका थिए। ‘यहाँ बस्ने अवस्था छैन्,‘मेरो स्थानीयसँग झगडा भएको छ,‘मार्न गुण्डा बोलाएको छ’ सिउथानीलाई घटना अगाडी पठाएको म्यासेजमा समेत उक्त कुरा उल्लेख गरिएको छ। यता घटना बारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत सबैलाई अनुसन्धान गर्ने अवस्था नभएकाले नेपाली दुतावासबाटै स्थलगत जानुपर्ने अवस्था रहेको मृतकका साथीहरुको भनाई छ।

मृतकको शव अस्पताल र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने जनाइएको छ। मृतक अक्टुवर १५ तारिकमा घर आउने तयारीमा थिए। परिवारसँग नियमित सम्पर्कमा रहेको र कुनै स्वास्थ्य समेत समस्या नभएकाले आत्महत्या नभई हत्या गरिएकाले नेपाल सरकारमार्फत निस्पक्ष छानविनको माग गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024