मलेसियामा कुटपिट प्रकरण : अवैध बस्थे दुबै नेपाली

3 Aug, 2020

काठमाडौं : मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि आफ्नै सुपरभाइजरले निर्घात कुटिएपछि मलेसियास्थित नेपाली दूतावासले चासो देखाएको छ। दूतावासले सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोका सम्बन्धमा थप विवरणहरु प्राप्त भएको भन्दै विज्ञप्ति जारी गरेको छ।

‘उक्त भिडियोबारेमा ३० जुलाईको मध्यरातमा राजदूतावासमा जानकारी आउनासाथ राजदूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन PIKM लाई खबर गरी सत्य तथ्य बुझ्न अनुरोध गरेको थियो। PIKM ले ३१ जुलाईको विहान प्रहरीमा उजुरी दर्ता गर्‍यो भने राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्‍यो’ जारी विज्ञप्तिमा भनिएको छ ‘दूतावासले आह्वान गरे अनुसार उक्त घटनाका पीडित र पिडक दुबै जना राजदूतावासको सम्पर्कमा आउनु भयो। दुबै जना नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ।’

पीडित ईस्लाम हुसेन नवलपरासी र पिडक राम गोपाल मुराउ कपिलबस्तुका स्थायी बासिन्दा भएको दूतावासले जनाएको छ। मलेसियाको अध्यागमन कानून अनुसार पिडक र पीडित दुवै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ। उनीहरुले भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को विहान करिब १० बजे क्वालालम्पूरमा रहेको M3 Mall मा भएको दूतावासलाई जानकारी गराएका छन्। पीडित सेक्युरिटी गार्ड र पिडक सुपरभाईजरको रुपमा कार्यरत रहेका थिए। राजदूतावासको सम्पर्कमा आएका दुबै जनाले उक्त भिडियोमा देखिने पात्र आफुहरु नै रहेको कुरा स्वीकार गरेको दूतावासले जनाएको छ। मुराउ सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन्। उनीहरुबारे थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजुस्थित प्रहरी स्टेशन (IPD Wangsa Maju) ले गर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024