मन्त्री यादवको ३ महिने कार्ययोजनाः ६० हजारलाई रोजगारीदेखि श्रम सम्झौतासम्म

8 Jan, 2020

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनामा गर्ने कामको विवरण सार्वजनिक गरेका छन् ।

उनले आगामी तीन महिना भित्र ६० हजार बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताए ।

रोजगार कार्ययोजनाअन्तर्गत सातवटै प्रदेशमा रोजगारीका सम्भावना पहिचान गर्ने, युवालाई रोजगारीमूलक सीप विकास तालिम प्रदान गर्ने, सीप प्रदर्शनी तथा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटिने श्रमिकहरूको दुर्घटना वीमा गर्ने योजना रहेको मन्त्री यादवले बताए ।

तीन महिने कार्ययोजनामा वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीकरण गर्ने, विदेशस्थित कूटनीतिक नियोगबाट पुनःश्रम स्वीकृति प्रदान गर्ने, विदेशबाट फर्केकालाई आर्थिक तथा सामाजिक पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने र राष्ट्रिय आप्रवासन स्रोत केन्द्रमार्फत ३९ जिल्लामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान गर्ने कार्यक्रम समावेश छन् ।

यादवले आगामी ३ महिनामा १० हजार युवालाई वैदेशिक रोजगार बोर्डबाट निशुल्क सीप तालिम प्रदान गर्ने, ओमनसँग द्विपक्षीय श्रम सम्झौता गर्ने बताए ।

साथै आगामी तीन महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा अङ्गभङ्ग भएका व्यक्तिका हकवालाले पाउने रकम स्थानीय तहबाटै उपलब्ध गराउने, १५ हजार रोजगारदाता तथा थप एक लाख योगदानकर्तालाई सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउने कार्यक्रम छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024