अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनदेखि घट्न थालेको वैदेशिक रोजगारीमा जानेको संख्या मंसिरमा पनि जारी रह्यो।
चालु आर्थिक वर्षको पाँच महिनासम्म वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ हजारले कम छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ को साउनदेखि मंसिरसम्म दुई लाख २५ हजार नौ सय ७७ विदेश गएकोमा यो वर्ष एक लाख ७४ हजार नौ सय २६ मात्रै गए। वैदेशिक रोजगार विभागका अनुसार चालु आवको मंसिरमा श्रम स्वीकृति लिएर ३८ हजार तीन सय ५० कामदार विदेश गए। अघिल्लो वर्ष मंसिरमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५३ हजार तीन सय ५४ थियो।
मेनपावर व्यवसायीका अनुसार विदेश जानेको संख्या घट्नुको मुख्य कारण सरकारले निःशुल्क भिसा र टिकट लागू गरेपछिको विवाद हो। गएको असार २१ गते श्रम तथा रोजगार मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जाने कामदार पठाउँदा भिसा र टिकटबापत १० हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने निर्णय गरेपछि मेनपावर व्यवसायी र सरकारबीच उक्त विषयलाई लिएर विवाद बढेको छ। विवादका कारण मेनपावर व्यवसायीले रोजगारदाता मुलुकबाट पूर्व श्रम स्वीकृति ल्याउने संख्या घटाउँदै लगेको बताए।
निःशुल्क भिसा र टिकट निर्णय लागू गरेपछि यसको सबभन्दा बढी असर मलेसिया जाने कामदार संख्या घटेको छ। विगतका वर्षमा सबभन्दा बढी कामदार मलेसिया जाने गरे पनि चालु आर्थिक वर्षको पाँच महिनामा कतारमा सबभन्दा बढी कामदार गएका छन्। साउनदेखि मंसिरसम्म कतार जाने कामदारको संख्या ५४ हजार एक सय २७ रह्यो। कतारपछि धेरै कामदार साउदी गएका छन्। पाँच महिनाको अवधिमा ५३ हजार सात सय ५९ कामदार साउदी पसे। मलेसिया जानेको संख्या भने ३१ हजार दुई सय एक रह्यो। मेनपावर व्यवसायीका अनुसार मंसिर रोजगारीका लागि कामदार विदेश पस्ने मुख्य सिजन हो।