भ्रमण भिसा रोक्न ध्यानाकर्षण

24 Nov, 2020

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । वैदेशिक रोजगार व्यवसायी कम्पनीले अवैधानिक बाटोबाट भ्रमण भिसाबाट विदेश जाने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली श्रमिकका लागि पेस भएका मागपत्र विदेशस्थित दूतावासले प्रमाणीकरण नगरेका कारण अवैधानिक बाटोबाट भिजिट भिसामा विदेश जान थालेको भन्दै कम्पनीले सरकारको ध्यानाकर्षण गराएको हो ।

लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले गत भदौ १४ गते नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिकको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको अवस्थामा अहिलेसम्म विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण गर्न आलटाल गरेको आरोप लगाएको छ ।

एसोसिएसनले अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा श्रमिकलाई कुनै भवितव्य पर्न गएमा कुनै पनि क्षतिपूर्ति पाउने कानुनी प्रावधान नभएकाले ठगीमा पर्ने अत्यधिक सम्भावना हुने हुँदा यस्ता ऐन, नियम विपरीतका कार्यलाई निरुत्साहन गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई एकजुट हुन आग्रह गरेको छ ।

एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तत्काल छानबिन तथा अनुसन्धान गर्न ध्यानाकर्षण गराउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024