भौतारिँदै विदेश, पछुताउँदै स्वदेश

23 Aug, 2018

गल्छी गाउँपालिका–४ भदौरेका राजेन्द्र प्याकुरेललाई विदेश गएर धेरै पैसा कमाउने धोको थियो। टिनको छानामुनिको ओत छाडेर उनी २०७१ सालमा मलेसिया हानिए। डेढ लाख रुपैयाँ तिरेर मलेसिया पुगेका प्याकुरेलले सोचेजस्तो पैसा कमाउन सकेनन्। त्रिभुवन विमानस्थल हुँदै मलेसिया पुगेलगत्तै प्याकुरेलले आफू ठगिएको थाहा पाए।

होटलको प्याकिङको काम भनेर गएका प्याकुरेल तरकारी गोदाममा काम गर्नु परेको बताउँछन्। ‘ऋण लिएर पैसा कमाउन मलेसिया गएको थिए,’ प्याकुरेलले भने, ‘एग्रिमेन्ट पेपरमा एउटा काम भनेर गएको तर मलेसिया पुग्दा अर्कै काम गर्नुप-यो।’ तीन वर्षसम्म मलेसियामा काम गरे पनि सोचेजस्तो पैसा कमाउन नसकेपछि भौतारिदै उनी नेपाल फर्किए।

परिवारका जेठा सन्तान प्याकुरेलको थाप्लोमा घरपरिवारको सबै जिम्मेवारी थपिएको छ। आमाबाबु सामान्य खेती किसानी गर्छन् । दुई बहिनी र एक भाई पढ्दै छन्। भूकम्पले घर भत्किएपछि अस्थायी टहरा बनाएर बस्दै आइरहेका छन्। विदेशमा पैसा कमाएर परिवारलाई सुखसाथ पाल्ने उनको चाहना अपूरो भयो। तीन वर्ष साथीहरुसँगै मलेसिया काम गरेर घर फर्किएका प्याकुरेल केही समय के गर्ने कसो गर्ने भनेर भौतारिरहे। साथीहरुको सल्लाह बमोजिम आफैंले पोल्ट्री फर्म खोलेर व्यवसाय गर्न थाले। केही समय व्यवसाय राम्रै भयो। बिस्तारै पोल्ट्री व्यवसाय पनि घाटामा जान थालेपछि उनले व्यवसाय गर्न पनि छाडे।

प्याकुरेल फेरि विदेश जाने तरखरमा छन्। पहिले भौतारिँदै मलेसिया पुगेका उनी पछुताउँदै नेपाल फर्किएका थिए। नेपाल आएपछि विदेश नफर्कने बाचा गरेर पोल्ट्री व्यवसायमा लागेका प्याकुरेलका मनमा एकाएक विदेश जाने चाहना पलायो। ‘स्वदेशमा भनेजस्तो काम पनि नपाइने र दाम पनि हुँदैन,’ उनले भने, ‘कामको खोजीमा हामीजस्ता लाखौं युवाहरु भौतारिनु परेको छ।’ विदेशमा कमाउन गएका पनि कोही रोगको सिकार हुनु परेको छ भने कोही बेपत्ता हुने गरेका छन्।

दुई छाक खान, राम्रो लगाउन र लालाबाला हुर्काउन विदेशिएकाहरु हराउने, अलपत्र पर्ने घटनाका उदारहण जिल्लामा प्रशस्त भेटिन्छन्। टिनको छानोमुनि ओत लाग्नुपर्ने बाध्यताबाट बिस्तारै टड्किन धेरै युवा विदेश जाने सुनौलो कल्पनामा भौतारिएका छन्। अभाव र गरिबीले डामिएर सहज जीवनयापनको खोजीमा कैयौं युवा विदेशिन बाध्य छन्।

धादिङको नीलकण्ठ नगरपालिका १४ अम्बटेका रिर्षेश्वर वस्ती ६ वर्ष विदेशमा काम गरेर नेपाल फर्किए । तीन वर्ष सिंगापुर र तीन वर्ष दुवईमा गरी ६ वर्ष विदेशी भूमिमा काम गरेका उनी त्यति सन्तुष्ट छैनन्। पढ्दापढ्दै कामको खोजीमा भौतारिँदै विदेश पुगेका वस्तीको सिंगापुरमा खासै कमाइ भएन । त्यहाँको कमाइले जेनतेन पारिवारिक खर्च धान्न मात्र पुग्ने भएकाले अहिले उनी घर फर्किएका छन्। ‘विदेश भनेको दुःख भोग्ने बाटो रहेछ,’ वस्तीले भने, ‘सानोतिनो कमाइ भए नि आफ्नै देश प्यारो हुन्छ, अब विदेशको कल्पना कहिले गर्दिन।’ काम गरेर फर्किएका वस्ती अब आफ्नै गाउँठाउँमा केही गर्ने सोचमा छन्। हातमा सीप भए त आफ्नै गाउँघर रमाइलो हुन्छ। उनका दाई पनि आठ वर्षदेखि इजरायलमा कार्यरत छन्। तर दाईको अत्तोपत्तो छैन।

विदेश गएर प्रशस्त पैसा कमाउन विदेशिएका नीलकण्ठ नगरपालिका–२ भुलभुलेका निरबहादुर गुरुङ पनि अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। उनी पनि परिवारको भविष्य सुनौलो बनाउने सपना बोकेर विदेशिएका थिए। विदेशमा सोचेजस्तो कमाइ नभएपछि उनी पनि स्वदेश फर्किए । ‘अरुले कमाएको कुरा सुनेर रुखमा फलेको पैसा नै टिपौंला भन्ने सोचेर कतार गएँ,’ गुरुङले भने, ‘तीन दिनसम्म खाना त के पानी पनि खान दिएन । भोक र तिर्खाको प्यास मेटाउन ट्वाइलेटमा झरेको पानी पिएर मेटाउनु प-यो।’ उनी २०६१ सालमा कतार गएका थिए।

साथीभाइ विदेश गएको देखेपछि गरिरहेको डकर्मी काम छाडेर गुरुङ विदेश गएका थिए। ‘कतार पुगेपछि मालिकले तोकेको जति तलब दिएन,’ उनले भने, ‘आफ्ना मागहरु राख्दा काम नगर्ने भए नेपाल फर्केर जा भन्थ्यो।’ जसोतसो ऋण गरेर उनीसमेत २५ नेपाली कतार गएका थिए। ऋण चुक्ता नहुञ्जेल त्यहीँ काम गरेर सबैजना तीन वर्षमा स्वदेश फर्किए। नेपाल आएर फेरि डकर्मीको काम सुरु गरेको उनी बताउँछन् । ‘तीन वर्ष ठेकेदारसँग काम गरे।’ उनले पछि अलिअलि फर्मा कनेक्सनको सामान जुटाएर अहिले ठेकेदारीको काम गरिरहेका छन्। काम भयो भने महिनामा ३० हजारदेखि ५० हजारसम्म नेपालमै आम्दानी गर्न सकिने उनी बताउँछन्। विदेशको कमाइले परिवारलाई खुसी पारौला भनेर विदेशिएकाहरु पछुताएर अहिले स्वदेश फर्किन थालेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी बनाउने संख्या गत वर्षको तुलनामा बढेको सहायक प्रमुख जिल्ला अधिकारी धोकलराज ढकाल बताउँछन्। उनका अनुसार आव ०७४/७५ मा जिल्लामा सात हजार पाँच सय ९१ जनाले राहदानी बनाएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024