भोटले पेट भरेन, कसैले केही गरेन

21 Nov, 2022

देशमा चुनाव छ। मुलुक र जनताको भाग्य र भविष्य कोर्ने नेतृत्व चयन हुँदैछन्। पुराना पार्टी र नेताले ‘केही नगरेको’ भन्दै राजनीतिमा युवा नेतृत्व आउनुपर्ने आवाज पनि चर्को रूपमा उठेको छ। तर, एकथरी युवा चुनावको मुखमा पनि देशमा अडिन सकेका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धमाधम बाहिरिरहेका छन्। चुनावको मुखमा देश छोड्नु पर्दाको पीडा त उनीहरूसँग छ नै। कथा र व्यथा पनि उत्तिकै दुःखदायी र मर्मस्पर्शी छन्। विदेश उड्ने मात्र होइन, बिदाइ गर्न जानेका आँखा पनि उस्तै भिजेका देखिन्थे। विदेश जाने अधिकांश युवाको एउटै भनाइ थियो– ‘देशमा रोजगारी र सम्भावना नभएका कारण देश छोड्दैछु।’ बिहीबार र शुक्रबार बिदेसिँदै गरेका केही युवासँग विमानस्थलको टर्मिनल भवनमा अन्नपूर्ण पोस्ट्का राजकरण महतोले गरेको कुराकानी :

श्रीमतीलाई ब्लड क्यान्सर छ त के गर्नु ?

देशमा चुनाव छ। घरमा श्रीमतीलाई ब्लड क्यान्सर। झापाका नवराज बेगा (लिम्बू)लाई बिदेसिनु पर्ने विवशता छ। पीडा, वेदना र अभावको भारी बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिदेसिन खोज्दै थिए उनी। पत्नी कोमलाले उनको हात च्याप्प समातेकी थिइन्। बरर् आँसु झार्दै पत्नीले उनको हात समातिरहँदा नवराज पनि भावुक बने। नवराज र पत्नी कोमलाका हात अलग हुनै मानेका थिएनन्।

नवराजलाई पनि बिदेसिनु त कहाँ मन थियो र ? तर, के गर्नु ? देशको भाग्य र भविष्य यहीं बस्नेलाई छाडेर खाडीतिर अघि बढे। पत्नीको माया र विश्वासलाई सँगालेर हात हल्लाउँदै नवराज मलेसिया उडे।

कोमला पाँच वर्षदेखि ब्लड क्यान्सरबाट पीडित छिन्। उनको उपचारको खर्च जुटाउन नवराज दोस्रो पटक मलेसिया जाँदै थिए। बिदाइ गर्न कोमला एयरपोर्ट आएकी थिइन्। बिदाइ गर्दा नवराजको साथ कोमलाले छाड्न मानिरहेकी थिइनन्। गला मिलेर निकैबेर रोइरहेकी थिइन्। ‘तपाईं आउँदासम्म म बाँच्छु कि बाँच्दिनँ ?’ भक्कानिँदै कोमलाले भनिन्। नवराज सान्त्वना दिँदै थिए। भने, ‘म कमाएर छिट्टै फर्किन्छु। तिम्रो उपचार गराउँछु।’ तर, उनलाई कोमलाले समाएको हात छुटाउन कठिन परिरहेको थियो।

एयरपोर्टको चेकजाँचको लाइन अघि बढ्यो। विस्तारै उनी टाढिँदै थिए। कोमलाले निकै बेर हेरिरहिन्। झन्डै एक घण्टापछि जहाज उड्यो। कोमला आकाशतिर उडेको जहाजलाई हात हल्लाइन् र एयरपोर्टबाट विस्तारै निस्किइन्। ‘म ब्लड क्यान्सरको बिरामी हुँ’, उनले अन्नपूर्णसित भनिन्, ‘उहाँ फर्केर आउँदासम्म म बाँच्छु कि बाँच्दिन भन्ने मात्रै चिन्ता लाग्छ। श्रीमान् दुई वर्षका लागि मलेसिया उडेको कोमलाले जानकारी दिइन्। ‘उहाँले कमाएर पैसा पठाएपछि बोनम्यारो ट्रान्सप्लान्ट गर्ने प्लान छ,’ कोमलाले भनिन्, ‘हाम्रो देशमा धेरै पैसा कमाउने काम भइदिएको भए उहाँ यही त बस्न पाउनुहुन्थ्यो नि। मेरो श्वास रहेसम्म। मेरो अन्तिम दिनसम्म।’

घरायसी समस्या त छँदैछ। भोट हाल्न नपाई विदेश उड्नु परेकोमा नवराज पनि खिन्न देखिन्थे। ‘मेरो देशमा मंसिर ४ गते चुनाव हुँदैछ। नेता छान्ने दिनमा म जाँदैछु,’ नवराजले भने, ‘ज जसले मतदान गर्नुहुन्छ राम्रोलाई छान्नुहोला। हामीजस्तो कमाउन तपाईं आमा वुबा, दाजु, भाइले विदेश जानु नपरोस्।’

भ्रष्टाचारले देश बिरामी परेको भन्दै नवराजले भने, ‘हाम्रो देशमा कमाएर खाने ठाउँ छैन। लुटेर खान जानिँदैन। कमाएर खान र परिवारको औषधी उपचारका लागि बाहिरै जानु प¥यो। नवराजले ३६ वर्षको उमेरमा परिवार पाल्न अनेक दुःख गरे। धेरै भोगे पनि। त्यो दुःखले उनलाई छोड्दै छोडेन।

‘गरिबका छोराछोरी खाडी नगएर के गर्छन् त ?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका थिए, सर्लाही गोरैताका उपेन्द्र महरा। उमेरले त्यस्तै ४५ वर्ष पुगेका उनी, चिसो भुइँमा बसेका थिए। छोरालाई बिदाइ गर्न उनी एयरपोर्ट पुगेका रहेछन्।

छोरालाई बिदाइ गरिसकेपछि पनि उनको मनले घर फर्किन मानेको थिएन। छोरा चढेको जहाज कतिखेर उड्छ भन्दै उनी घरी विदेश जान लागिरहेका युवाहरूको भीड नियाल्थें, त घरी आकाशतिर हेर्थे। छट्पटिँदै घरी यता, घरी उता गर्दै गरेको देखेपछि अन्नपूर्णकर्मी उनको छेउमा पुग्यौं। नाम र ठेगाना मात्रै के सोधेका थियौं– तर, उनी त रुन पो थाले।

किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ उनले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तोअत्याचारी सरकार।’

उपेन्द्र काठमाडौंका फुटपाथमा जुत्ता पालिस गर्ने र च्यात्तिएको चप्पल सिलाएर जीविकोपार्जन गर्दा रहेछन्। यतिले मात्रै जीवन नचल्ने भएपछि छोरालाई कमाउन मलेसिया पठाएका रहेछन्। ‘सरकारले हाम्रै देशका सुखसुविधा दिएको भए हाम्रो लैइरका (छोराहरू) विदेश जाँदैनथे,’ उनले पीडा पोखे, ‘सरकार हामी गरिबको दुःखै बुझ्दैन्। मजबुरीले ऋण लिएँ। तीन, चार लाख जति। त्यसपछि छोरालाई विदेश उडाउन पायौं।’

उनले सरकार (नेता र ठूलाबडा)का छोराछोरीहरू आफ्नै घरमा मस्ती गरिरहेको तर गरिबका छोराछोरीलाई भने दुःखैदुःख भएको बताए। ‘सरकारले गरिबका छोराछोरीलाई पढाइलेखाइको व्यवस्था गर्नु पथ्र्यो। फ्याक्ट्री (उद्योग) खोल्नुपथ्र्यो। यी काम भएको भए म जस्ताले छोरालाई विदेश पठाउनु पर्दैनथ्यो।’

सरकार फेरिए, व्यवस्था परिवर्तन भए। र, पनि गरिब तथा सुकुम्बासी बस्तीमा केही सुखसुविधा पुगेको छैन। उनले भने, ‘भूमिहीन छौं। अनि के गरौं ? मजबुरीवस छोराहरूलाई ऋणकर्जा लिएर विदेश पठाउनु परेको छ। गरिबी जीवन बाँचिरहेका छौं। न कमाए के खाने ?’ देशका नेताले आफ्ना लागि मात्रै सोच्ने गरेको उनले गुनासो पोखे।

‘सरकारमा भएकाहरू आफ्ना वेटा (छोरा) का लागि मर्छन्,’ उनले भने, ‘तर, गरिबका लागि कोही पनि मर्दैन। विदेशमा गरिबका छोराले महादुःख भोगिरहेका छन्।’ जनताको मत लिएर नेताहरूले चुनाव जित्ने र सरकार बनाउने गरेको उनको भनाइ छ। ‘भोट माग्ने बेला नमस्कार गर्छन्,’ उनले भने, ‘नेताहरूले भन्छन् म तपाईंहरूकै हुँ। जितेपछि धेरै सुखसुविधा दिन्छु। तर, जितेर गएपछि त्यो दिनदेखि मुख देखाउन पनि आउँदैनन्। उनीहरू आफ्नै लागि सबथोक गर्छन्।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024