भारतीय होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’

25 Aug, 2020

सुरेशराज न्यौपाने

नयाँदिल्ली — दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना । भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । यस्तो यातना भोग्ने नेपाली हुन्, कास्कीको बूढीखोला, रामकोटका ४० वर्षीय मंगलबहादुर सुनार ।

उनलाई जयपुरस्थित विक्रमादित्य मार्गको संगम भोजनालयका सञ्चालकले दस वर्षसम्म बँधुवा मजदुर बनाएर राखेका हुन् । बालश्रमविरुद्धका अभियन्ता कैलाश सत्यार्थीको संस्था ‘बचपन बचाओ’ले होटलमा बालश्रमिकहरू रहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग मिलेर अघिल्लो सोमबार त्यहाँ छापा मारेको थियो । प्रहरीले सुनारलाई उद्धार गरेर हाल त्यहीँकै एक स्थानीय आश्रय केन्द्रमा राखेको छ । 

उद्धारपछि ‘बचपन बचाओ’का स्थानीय प्रतिनिधि देशराज सिंहले होटल मालिक शिवशंकर बर्मा भोडीलालविरुद्ध सुनारलाई बिनातलब काममा लगाएको र यातना दिएको भन्दै एफआईआर दायर गरेका छन् । त्यसकै आधारमा प्रहरीले भोडीलाललाई पक्राउ गरेको छ ।

दस वर्षभन्दा बढी समयसम्म बँधुवा मजदुरका रूपमा काम लगाएको, तलब नदिएको र शारीरिक यातनासमेत दिएको आरोपसहित कानुनी कारबाहीका लागि उजुरी दायर गरिएको सिंहले बताए ।

सुनार वर्षौंअघि गाउँकै आफन्तको साथ लागेर रोजगारीका लागि भारत आएका हुन् । केही वर्ष मुम्बई र अन्य केही ठाउँमा काम गरे । त्यहाँबाट दस वर्षअघि उनी राजस्थानको जयपुर पुगे । एक जना गाउँकै चिनजानको मान्छेले संगम भोजनालयमा पुर्‍याइदिएको सुनारको भनाइ छ । तर, उनलाई के थाहा, त्यसपछि त्यहाँबाट दस वर्षसम्म उम्कन सकिँदैन भन्ने । आफन्त, परिवार कसैसँगै गफ गर्न पाएनन् । उल्टै मानसिक र शारीरिक यातना खेप्नु पर्‍यो । ‘जति माग्दा पनि तलब दिँदैनथे, त्यही हो चुरोट र बिँडीका लागि पाँच–दस रुपैयाँ पाउँथेँ,’ सुनारले भने । 

उनले बीचमा घर जान होटल मालिकलाई अनुनय–विनय नगरेका होइन । तर त्यसो गर्दा मालिक र उनकी श्रीमतीको पिटाइ खानुपर्‍यो । ‘घर जान्छु भन्दा अहिलेसम्मको पैसा नदिने भन्थे, धेरैपटक त पिटे पनि,’ उनले सम्झिए । होटलमा दैनिक सोह्र घण्टासम्म भाँडा माझ्ने र भुइँ पुछ्ने काम गर्नुपरेको उनले सुनाए ।

उनलाई अहिले घरगाउँतिरको कुनै खबर छैन । न त परिवारको हाल थाहा छ । अहिलेलाई यत्ति सम्झना मात्र छ– आफ्नो घर बूढीखोला रहेको र सानै छँदा गाउँलेहरूको साथ लागेर भारत आएको । ‘घरमा बुबा र कान्छी आमा हुनुहुन्थ्यो, अरू त खासै याद छैन,’ उनले भने । सुनारका अनुसार उनकी आमा उनी सानै छँदा नै बितेकी थिइन् । त्यसपछि बुबाले अर्को विवाह गरे ।

स्थानीय प्रशासनले होटल मालिकबाट सुनारलाई क्षतिपूर्ति भराउन प्रक्रिया पनि सुरु गरेको छ । त्यसका लागि पीडित सुनारको बैंक खाता खोल्न आवश्यक प्रक्रिया सुरु भइसकेको सिंहले जानकारी दिए । उनका अनुसार त्यसपछि सुनारलाई नेपाल फर्काइनेछ । सुनारले पनि आफू चाँडोभन्दा चाँडो फर्कन चाहेको बताए । ‘धेरै दुःख पाइयो, अब जसरी पनि घर फर्कने, यतिका वर्ष बितिसक्यो, खोइ को–को छन्, थाहा छैन,’ उनले कान्तिपुरसँग भने ।

नेपाल फर्काउन ‘बचपन बचाओ’ले केआई नेपालसँग समन्वय गरिरहेको छ । केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले कानुनी प्रक्रिया पूरा भएपछि सुनारलाई घर फर्काइने बताए । साथै नेपालमा रहेका सुनारका आफन्तसँग सम्पक गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । ‘पहिले जयपुरको कानुनी प्रक्रिया पूरा होस्, त्यसपछि दूतावाससँगको समन्वयमा नेपाल पठाउनेछौं,’ उनले भने, ‘गाउँलेहरूसँग सम्पर्क भएको छ, अझ विस्तृतमा बुझ्दै छौं ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024