भारतबाट २१ बालकको उद्धार

19 Oct, 2014

भारतका विभिन्न ठाउँमा श्रमिक बनाइएका २१ नेपाली बालकलाई उद्धारपछि प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। बैङ्लोर तथा मुम्बईका विभिन्न कारखानामा जोखिमपूर्ण काममा लगाइएका १० देखि १५ वर्ष उमेरसमूहका बालक शुक्रबार जिल्ला प्रहरी कार्यालयले अभिभावकलाई सुम्पिएको हो।

भारतीय प्रहरीको सहयोगमा विभिन्न संघसंस्थाले ती बालकको उद्धार गरेका हुन्। बैङ्लोरको डिजेअलीस्थित ब्याग कारखानामा प्रहरीले नेपालीसहित ६८ बालकलाई निकृष्ट श्रममा लगाइएको फेला पारेको थियो। नेपाल फर्काइएकामा रौतहट २० र बाराका एक जना छन्। 

निर्दोष नामक संस्थाले बालक नेपाल फर्काउन जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका सेवाकेन्द्रलाई जानकारी गराएपछि बालबालिका क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी निकायको संयुक्त बैठक बसी उद्धारकार्य अघि बढाइएको थियो। एक महिनाको प्रयासपछि उनीहरूलाई नेपाल फर्काइएको हो। गाउँकै केही व्यक्तिले पैसाको लोभ देखाएर भारत पुर्यााइएका बालकले त्यहाँ कष्टपूर्ण जीवन बिताउनुपरेको बताए। ब्याग कम्पनीले बिहान ८ देखि राति ११ बजेसम्म काम लगाउँथ्यो। तर, बेलैमा पैसा र खानबस्न दिँदैनथ्यो। थुनेर राखेको थियो,’ १२ वर्षीय मोहम्मद अफरोजले बताए।

गरिबी र अशिक्षाले गर्दा सन्तानलाई काममा पठाउनुपरेको अभिभावकले बताएका छन। महिला तथा बालबालिका कार्यालय, माइती नेपाल, जिल्ला बालकल्याण समिति, ग्रामीण विकास केन्द्र, महिला सुरक्षा दबाब समूह र हिमराइटलगायत संस्थाको सहयोगमा बिहीबार राति मात्रै ती बालकलाई नेपाल ल्याइएको हो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024