भारतको कोइलाखानीमा विष्फोट: खोटाङका तीन युवकको मृत्यु, एक बेपत्ता

9 February, 2026

भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ। मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन्। पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विष्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्।

खानीभित्रै विष्फोट भएकाले बेपत्ता राईको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। उनको नागरिकता र मोबाइल भने कोठामै भेटिएको छ।

विष्फोटमा बरापोखरीकै कर्णबहादुर खपाङ्गी मगर, बमबहादुर खपाङ्गी मगर र उदयपुरका ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सँगै काम गर्ने साथीहरूले विष्फोटपछि उद्धार गरिएका शवहरू आगोले डढेर चिन्नै नसकिने अवस्थामा रहेको जानकारी दिएका छन्।

रोजगारीका लागि भारत पुगेका युवाहरूको अकालमा ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ। मृतकका आफन्तहरू शव लिन मेघालय पुगे पनि कानुनी प्रक्रिया र खर्चको अभावमा शव नेपाल ल्याउन कठिनाइ भएको छ। घाइतेको उपचार र शव स्वदेश ल्याउनका लागि स्थानीय स्तरमा सहयोग सङ्कलन अभियान समेत सुरु गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024