होटेल व्यवस्थापनको पढाइका लागि थाइल्याण्ड पुगेका १० जना नेपाली विद्यार्थीले बिचल्ली बेहोरेपछि बैंककस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघको समन्वयमा घर फिर्ता भएका छन् ।
बढीमा ४ महिनासम्म बैंककमा बिचल्ली बेहोरेपछि पीडक कन्सल्टेन्सी तथा व्यक्तिबाट एक महिनाभित्रमा लागत रकम फिर्ता लिने सम्झौता जुटाएर विद्यार्थीहरू घर फिरेका हुन्। घर फर्केका लमजुङका टटकुमार गुरुङका अनुसार, जनही विद्यार्थीले औसतमा ५ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाएर ८ महिने होटेल म्यानेजमेन्ट पढाइ पुरा गर्न बैंकक पुगेका थिए।
काठमाडौँ, बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीले बैंककको इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजिनेश स्कुलमा खाद्य तथा पेय पदार्थको तालिम दिने भन्दै चर्को शुल्क उठाएको थियो। तर, सहमति अनुसार सुविधा सम्पन्न बिजिनेश स्कुलसमेत नरहेको र बैंकक लगेर रेष्टुरामा काम लगाइएको पाइएपछि विद्यार्थीहरूले एक सामूहिक भिडियोमार्फत आफ्नो कठिनाइ तथा ठगीबारे जानकारी गराएका थिए। पीडित विद्यार्थीले आफूलाई झुक्काएर बैंकक ल्याउने एजेन्टहरु सुनिल खड्का, सुजन बस्नेत र डा.सिरियुथ(बैंकक)का बारेमा समेत भिडियोमा जानकारी दिएका थिए।
‘हामीले सम्बद्ध सबै पक्षलाई सहमतिमा ल्याएर पीडित विद्यार्थीको पैसा फिर्ता हुने सर्तमा कागज गराएर विद्यार्थीलाई घर पठाएका छौँ,’बैंककस्थित राजदूत गणेश ढकालले कान्तिपुरसँग भने। विदेशस्थित कुनै तालिम प्रदायक संस्था वा स्कुलमा आउनुअघि यस्ता संस्थाको आधिकारिकता र हैसियतसमेत पहिल्याउनका लागि दूतावासले आग्रह गरेको छ।
बैंककमा अलपत्र भएर घर फर्कने विद्यार्थीमा टटकुमार गुरुङ, मनिषा खतिवडा, गौरव पोखरेल, अमृत बस्नेत, डोमा शेर्पा, राजेश आचार्य, रुपक गौतम, प्रशान्त गौतम, असिम न्यौपाने र सुमित दाहाल छन्।