बेलायतका सेनाध्यक्ष नेपालमा : यस वर्ष ३३६ नेपाली बेलायती सेनामा भर्ती हुुने

2 February, 2024

बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा नेपालमा छन् । प्याट्रिक तीन सय ३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा पोखरामा सहभागी हुने क्रममा सोमबार साँझ काठमाडौं आइपुगेका हुन्।‘मूलतः यही कार्य (गोर्खा सैनिकका अन्तिम छनोट)का लागि नेपाल आएको हुँ,’ उनले बिएफबिएस गोर्खा रेडियोलाई भनेका छन् । ब्रिटिस सेनामा छनोट भएका नेपालीलाई शपथग्रहण गराएर बेलायतको क्याटरिक भन्ने ठाउँमा लैजाने योजना छ । क्याटरिकमा सैनिक तालिम पार गरेपछि उनीहरूलाई बेलायती सेनाले विभिन्न युनिटमा खटाउनेछ ।

‘गोर्खाका कारण बेलायत र नेपालबीचको रणनीतिक साझेदारी, सम्बन्ध, मित्रता अर्थपूर्ण छ,’ उनले भनेका छन्, ‘नेपालका राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्रीहरू, सेनाको नेतृत्वबीच भेटघाटको अवसर पनि हो । हामी दुई देशबीच ऐतिहासिक सम्बन्ध र मित्रताको बन्धन सुदृढ गर्नेछौँ ।’ भारतले तीन वर्षअघि अग्निपथ योजनाअन्तर्गत चार वर्षका लागि सुरुमा सेनामा भर्ती हुने योजना लागू गरेसँगै भारतीय सेनामा नेपालीको भर्ती बन्द छ । बेलायती सेनामा गोर्खा भर्ती निरन्तर चलिरहेको छ ।

गोर्खा सैनिक र उनका परिवारलाई के सन्देश छ भन्ने प्रश्नमा जनरल प्याट्रिकले भने, ‘उहाँहरूले के गरिरहनुभएको छ भनेर बुझ्ने र प्रोत्साहन दिन आएको हुँ । गोर्खा ब्रिगेडमा सेवा गर्ने गोर्खाहरूप्रति गहिरो स्नेह र सम्मान छ । उहाँहरूको बफादारी, इमानदारिता, कठोरता व्यावसायिक विशेषता हुन् । ब्रिटिस सेनामा गोर्खाहरूले सेवा गरेका कारण हामी धेरै बलिया छौँ । यो लामो समयसम्म जारी रहोस् भन्ने चाहन्छौँ ।’

जनरल प्याट्रिक आफैँ पनि गोर्खा सैनिकसँग जोडिएका छन् । उनका बुबाले गोर्खा ब्रिगेडको १०औँ गोर्खा राइफल्समा सेवा गरेका थिए । मलायाको विद्रोह र इन्डोनेसियामा बेलायती सेनाका तर्फबाट उनका बुबा खटिएका थिए । उनले बेलायती सेनामा आधुनिकीकरण भइरहेको पनि बताए । ‘यो दशकको अन्तिमसम्ममा हाम्रो सेना निकै फरक देखिनेछ । त्यसकारण यसवेला भर्ती हुन उत्साहजनक समय हो,’ उनले भने, ‘हामी विश्वभरि परिचालित छौँ । हामीसँग उच्च प्रकारको प्रतिबद्धता छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024