‘बेखर्ची श्रमिक पहिचान गर्न कठिनाइ’

29 August, 2020

विदेशमा बेखर्ची श्रमिकलाई निःशुल्क उद्धार गर्न सरकारले निर्माण गरेको कार्यविधिको प्रावधानले लक्षित वर्गको पहिचान गर्न कठिनाइ हुने भन्दै दूतावासहरूले कार्यान्वयन गर्न अस्वीकार गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको वेबिनारमा बोल्दै पोलिसी इन्स्टिच्युटकी बोर्ड कार्यकारी सदस्य सरू जोशीले कार्यविधिले बेखर्ची र जोखिममा रहेका श्रमिकभन्दा पनि आफ्नै खर्चमा फर्कन सक्नेलाई समेटेको बताइन् । सोही कारण दूतावासहरूले यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको उनको दाबी छ ।

सर्वोच्च अदालतले बेखर्ची श्रमिकलाई वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गर्न आदेश दिएको छ । सर्वोच्चले सरकारलाई कार्यविधि बनाएर कार्यान्वयन गर्न आदेश दिएको दुई महिनाभन्दा बढी भइसकेको छ । सरकारले पनि कार्यविधि बनाएर उद्धार गर्ने निर्णय गरेको एक महिनाभन्दा बढी भइसकेको छ । तर, हालसम्म दूतावासहरूले यस विषयमा कुनै पनि कदम उठाएका छैनन् । 

कार्यविधिको प्रक्रिया लामो भएको र लक्षित वर्गसम्म पुग्न नै अप्ठ्यारो भएकाले समस्या आएको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताए । उनले भने, ‘कार्यविधिअनुसार निःशुल्क उद्धारका लागि पहिला श्रमिकको निवेदन आउनुपर्छ । त्यसपछि रोजगारदातासँग प्रमाणित गर्नुपर्छ । पहिलो चरणमा उद्धारका लागि रोजगारदातालाई नै राजी गराउनुपर्छ । रोजगारदाता पनि संकट भएको प्रमाणित भए मात्रै उद्धार प्रक्रिया अगाडि बढ्नेछ ।’ यस्तो प्रक्रिया धेरै लामो र झन्झटिलो भएकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । विदेशमा रहेका नेपाली दूतावासहरू जिम्मेवार नहुँदा नेपाली श्रमिकले चरम शोषण भोग्नुपरेको इन्स्टिच्युटकी कार्यकारी सदस्य सरू जोशीले बताइन् ।  

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएको एक अध्ययनले देखाएको छ । नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याबले महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभावबारे गरेको अध्ययनले यस्तो देखाएको हो । तर, ४६ प्रतिशत श्रमिकलाई नेपाल फर्कने प्रक्रिया र नीति–नियमबारे जानकारीसमेत नभएको पाइएको छ । साथै, उनीहरूमा नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनावको डरसमेत रहेको अध्ययनले देखाएको छ ।

विदेश रहेका श्रमिक नेपाल फर्केपछि के गर्ने भन्ने योजना नहुनु र श्रमिकसँग थोरै बचत मात्रै हुनुले पनि श्रमिकहरूमा तनाव हुने गरेको उनले बताइन् । सरकारले श्रमिकहरूलाई विभिन्न खालका योजनाहरू ल्याउने गरे पनि ७० प्रतिशत श्रमिकहरूले त्यस्तो जानकारी नपाएको इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरू जोशीले बताइन् । २८ प्रतिशतलाई सामान्य जानकारी भएको, २ प्रतिशतलाई मात्रै पूर्ण जानकारी भएको अध्ययनले देखाएको उनले बताइन् । सरकारले आफू खुसी योजना बनाउने र लक्षित वर्गलाई सूचना प्रवाह नगर्ने कारण यस्तो भएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026